इमानको हेटौँडा
अहिले म त्यो दिन सम्झिरहेको छु, जुनदिन हेटौँडा पहिलोचोटि पुगेको थिएँ । हेटौँडा पुग्नुको आफ्नै स्मृति छ । यो स्मृतिले मलाई पवित्र पार्दछ । जहिले मलाई उक्त दिनको स्मृति हुन्छ, मलाई त्यो क्षणको सम्झना हुन्छ जतिबेला मेरो मस्तिष्कमा हेटौँडाको चित्र उतारिँदै थियो, म पुग्दै नपुगेको हेटौँडाले मेरो मस्तिष्कमा एउटा आकार लिएको थियो ।
२०५० कात्तिक महिनाको छठ पबनीको पारन भएको दिन म हेटौँडा पुगेको थिएँ । यो चाहिँ अध्ययनको लागि हो । तर, यसभन्दा पहिले नै मैले एक जनासित हेटौँडा पुगिसकेको थिएँ डुल्नको लागि । मैले सानो बुवा भन्ने गरेको एक जना अग्रज व्यक्तित्वसित हेटौँडाको बारेमा, हेटौँडेली नागरिकका बारेमा र त्यहाँ गर्नुपर्ने व्यवहारका बारेमा सुनेको थिएँ । यसको अर्थ यो पनि हो कि हेटौँडा पुग्नुभन्दा पहिले म एक किसिमले प्रशिक्षित पारिएको थिएँ । हेटौँडा पुगेर कसरी बोल्ने, कुराकानी गर्दा के कुरामा ध्यान दिने । कसरी बस्ने, कसरी उठ्ने, कसरी हिँड्ने । कसरी खाने आदि बारेमा पनि राम्ररी भनिएको थियो । आफूभन्दा ठुलो मानिसलाई कसरी सम्बोधन गर्ने, आफूभन्दा साना मानिससित कसरी कुरा गर्ने, महिला र ज्येष्ठ नागरिकसित कसरी व्यवहार गर्ने विषयमा पनि छलफल नभएको होइन ।
हुन त म स्नातक पढ्न हेटौँडा जाँदै थिएँ । स्नातक पढ्ने मानिसले सबै कुरा बुझिसकेका हुन्छन् भन्ने होइन । समाज र सस्कृतिमा पनि निर्भर हुन्छ । मलाई यसरी भनिरहनुपर्नेमा विभिन्न कारण भएपनि प्रमुखचाहिँ भाषा र संस्कृतिमा फरक पर्ने कुरा चाहिँ महत्वपूर्ण हो । अर्को मुख्य कुरा ग्रामीण र सहरिया जीवनको भिन्नता पनि हो । म नितान्त गाउँमा जन्मेको हुँ । जहाँ सम्पूर्णतः बज्जिका मातृभाषा बोलिन्छ । शतप्रतिशत मानिस मधेशी समुदायका छन् । त्यस जमानामा म आफ्नो सिंगो गाउँबाट पहिलो व्यक्ति स्नातक पढ्न हेटौँडा जाँदै थिएँ । मधेशी परिवेश, बज्जिका मातृभाषा र ग्राम्य जीवन यी तीन वटै वातावरण भन्दा नितान्त पृथक परिवेशमा पुग्नु परिरहेको थियो र म चाहिँ एक्लो थिएँ । पढ्न जाने अरुहरु पनि थिए, निकै निकटका थिए तर यी सबै मुख्य परिवेशभन्दा पृथक । अर्थात्, हेटौँडाको परिवेशले खासै भिन्नता नपार्ने । अर्थात्, नेपाली मातृभाषी, काँठमा हुर्केका र पहाडी परिवेश ।
एक्लै बस्न अलिकति सिकिसकेको थिएँ । माध्यमिक तह पढ्दा नै होस्टलमा र त्यत्ति बेलाको प्रमाणपत्र तह पढ्दा साथीहरुसित डेरामा बस्न, खाना पकाउन तथा भाँडा माझ्न जानिसकेको थिएँ । अब अझ बढी फराकिलो परिवेशमा उच्च शिक्षा अध्ययनको लागि जानु परेको थियो । जानुभन्दा पहिले मेरो मनमा पनि अनेक जिज्ञासा थिए । ममा पढ्ने इच्छा थियो । उच्च शिक्षा अध्ययनको लागि हेटौँडा पुग्ने चाहना थियो । वास्तवमा मेरो गाउँ भएको परिवेशका अन्य युवाहरु त्यत्ति बेला स्नातक पढ्न अधिकांश वीरगंज पुग्थे । एक्कादुक्का जनकपुर जान्थे तर जनकपुर भन्दा केही बढी मानिस सीतामढी पुग्थे । मेरो अगाडि सीता मढी, वीरगंज र हेटौँडामध्ये कुनै एउटा रोज्ने छुट थियो । मैले हेटौँडा रोजेको थिएँ ।
स्नातक पढ्ने तयारी गर्दासम्म मलाई पत्रपत्रिका पढ्ने बानी परिसकेको थियो । गोरखापत्र दैनिकको विज्ञापन र समाचारमा लेखिएको रासससमेत नबिराई पढ्दथें । सधैँ किन्दैनथें तर चन्द्रनिगाहपुर पुगेको दिनभने गोरखापत्र नकिनेको दिन हुँदैनथ्यो । मलाई राम्ररी सम्झना छ, गोरखापत्र किन्न गएको एक दिन, समाचारपत्रको नमुना अंक आएको थियो । हेटौँडा जाने तयारी गर्नुभन्दा पहिले र नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएपछिको समय हुनुपर्छ । पत्रिका पढ्ने बानी परेपछि मूल्यांकन मासिक खूब पढियो । कति अंक त किनेरै पढेंँ । अधिकांश अंक चाहिँ एक ठाउँबाट पढ्न ल्याउँथे र पूरा पढेर लगी बुझाउँथें । के पढिस् ? सोधनी हुन्थ्यो, बुझेको कुरो बताउँथेँ ।
मैले एउटा धारणा बनाइसकेको थिएँ । अगाडि जस्तो परिस्थिति आउँछ त्यस्तै गर्छु । तर पनि हेटौँडाप्रति मेरो धारणा यस्तो निर्माण भएको थियो – हेटौँडा सहर निकै राम्रो छ, ठुलो पनि । हेटौँडाका मानिसहरु खूब इमानदार छन् । सबैको व्यवहार एकदम सफा छ । सबैको मनको कुनाकुनामा इमानदारी भरिएको छ । एकको प्रगति देखेर अरु खुसी हुन्छन् । हरेकले अर्कोलाई सहयोग गर्दछ । त्यहाँ सुख छ, सन्तोष छ र विकास छ । एकअर्काप्रति विश्वास छ । सबै मानिस शिक्षित छन् । बुद्धिको सहर हो हेटौँडा । त्यहाँ कुनै किसिमले बेइमानीको कुरो हुँदैन । मलाई कहीँकतै झुटो बोल्नु छैन, झुटो बोल्यो कि समातिन्छ र दन्ड सहनुपर्छ । मेरो मनमा परिसकेको थियो, अत्यन्तै महान् छ हेटौँडा । प्रफुल्लित हृदयले बोलिरहेको थियो – आदर्शको सहर र सम्मानको पराकाष्ठा हो इमानको हेटौँडा ।
(मकवानपुरको महक: शृङ्खला २४)