सिमलताल पहिरो: १५ जनाको शव भेटियो
काठमाडौं । चितवनको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा हराइएका दुई वटा बसमा रहेका बेपत्ता ६५ यात्रुमध्ये हालसम्म १५ जनाको शव भेटिएको छ ।
सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाइ बेपत्ता यात्रुमध्ये १५ जनाको शव भेटिएको हो ।
आज बिहान साढे ९ बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । उनीहरुको शव आफन्तले बुझिलगेका सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
६ पुरुष र एक महिला गरी सात जनाको शव अझै सनाखत हुन सकेको छैन । उनीहरुको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा भेटिएको हो ।
गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
तीमध्ये काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात घर फर्केका छन् भने रौतहटकै देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको जनाइएको छ ।