सिमलताल पहिरोः बेपत्ता बस र यात्रु खोज्न ३०१ सशस्त्र प्रहरी परिचालन

तु खबर संवाददाता
२०८१ श्रावण १,मंगलवार १७:४६

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न ३०१ सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बेपत्ता दुई बस र यात्रु खोज्न मंगलबार १ साउनदेखि सशस्त्र प्रहरी बलले गण्डक ब्यारेजसम्म ३०१ जना सुरक्षाकर्मी पठाएर हो ।

दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा टोलीले २ वटा मोटरबोट र ७ वटा र्याफ्ट बोटसहित खोजी गरिरहेका छन् ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा १ सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएको छ ।

सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरुमा परिचालित भएकोे सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक ब्यारेज इलाकामा परिचालन गरिएको छ ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक व्यारेज इलाका, सुरक्षा वेश चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूूर्वी नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा परिचालित भएका छन् ।

गत असार २८ गते शुक्रबार वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बसमाथि पहिरो खस्दा गत शुक्रबार त्रिशुली नदीमा बेपत्ता भएको थियो ।

खोजी तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट २ वटा सोनार डिभाइस, २ वटा मोटर बोट र ६ वटा ¥याफ्ट बोट प्रयोग भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट १ सोनार डिभाइस, एउटा मोटर बोट र ५ वटा र्याफ्टसहित जम्मा १४ वटा बोट प्रयोग गरिएको छ ।

बेपत्ता यात्रुमध्ये हालसम्म १५ जनाको शव फेला परेको छ । तीमध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटाको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।