बागमती प्रदेश सभाको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ श्रावण २,बुधबार १९:१७

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा बैठक यही साउन ६ गते आइतबार बस्ने गरी आह्वान गरिएको हो ।

बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्नेछ । दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको बैठकमा सहभागी हुने प्रदेश सभा सांसद्हरुलाई सूचना प्रवाह गरिरहेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

सभामुख पाठकका अनुसार, उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।

त्यसअघि साउन ५ गते प्रदेश सभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठक बोलाइएको छ । कार्यपरामर्श समितिको बैठकल अल्पमतमा परेको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतलगायतको विषयमा कार्यसूची तयार गर्ने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

बागमति प्रदेश सभाको बैठक यसअघि असार १४ गते बसेको थियो । उक्त बैठकमा दुई वटा अर्थ सम्बन्धित विधेयक पारित गरेर सभामुख पाठकले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।