सिमलताल पहिरोः बेपत्ता यात्रुमध्ये थप एक जनाको शव फेला
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र यात्रुमध्ये थप एक जनाको शव फेला परेको छ ।
भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा आज थप एक जनाको शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त शव पुरुषको भएपनि सनाखत हुन सकेको छैन । शवलाई भरतपुर अस्पतालमा पोष्टमार्टमको लागि लगिएको छ ।
यससँगै बेपत्ता यात्रुमध्ये हालसम्म २० जनाका शव फेला परेको छ । यसअघि बुधबारसम्म १९ जनाको शव भेटिएको थियो ।
गत असार २८ गते शुक्रबार बिहान साढे ३ बनेको समयमा पहिरोमा परी दुई बस र यात्रु त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौंबाट गौरको लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं को गणपती डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
अन्य शव र बसको खोजी कार्य जारी रहेको छ । खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिएको छ ।