विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालन
काठमाडौं । देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि ८ सय ६८ जना सैनिक प्रहरी परिचालन गरिएको छ ।
पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोज तथा उद्धारका लागि गोताखोरसहितको टोली परिचालन गरिएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, नदीको उच्च बहाव तथा धमिलो पानीको बाबजुद पनि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोलीले खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा गत असार २८ गते ६५ यात्री रहेको दुई वटा बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा हराएका छन् ।
खोजीको क्रममा उद्धार टोलीले शुक्रबार बिहानसम्म २३ जनाको शव फेला परेको छ । सोमध्ये ९ जनाको शव सनाखत हुन बाँकी रहेको जनाइएको छ ।