कांग्रेस मकवानपुरद्वारा स्वर्गीय बीपीको स्मृतिमा आश्रममा आश्रितहरुलाई भोजन
मकवानपुर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको स्मृतिमा कांग्रेस मकवानपुरले आज हेटौंडास्थित मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन गराएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका स्वर्गीय कोइरालाको सम्झनामा आश्रममा आश्रित २२० जनालाई चियापान तथा दिवा भोजन गराइएको हो ।
सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्वर्गीय बीपीले नेपाली राजनीति र साहित्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
उनीहरुले मानव सेवा आश्रमका लागि नेपाली कांग्रेस सत्तामा पुग्दा वा बाहिर रहँदा जुनसुकै समयमा पनि आवश्यक सहयोग समन्वय गर्दै आएको स्मरण गर्दै त्यसलाई निरन्तरता दिइने बताए ।
जिल्ला सभापति बुद्ध लामाले सडक मानवलाई यो अवस्थासम्म ल्याउन मानवसेवा आश्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चर्चा गरे ।
त्यस्तै उनले महान विचारक बीपीको योगदानको चर्चा गरे । ‘उहाँले नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादको विचारलाई बीजारोपण गर्नुभयो । उहाँको राजनीतिक विचारले खासगरी लोकतान्त्रिक सिद्धान्त, सामाजिक न्याय र नेपालको राष्ट्रिय पहिचानमा गहिरो जरा गाडेको छ । नेपालको आधुनिकीकरण र प्रजातान्त्रिकरणका लागि उहाँको स्पष्ट विचार र दृष्टिकोणको सबैले सम्मान गर्नुपर्छ ।’ लामाले भने ।
कार्यक्रममा कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु तथा जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।