बागमती प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन गर्न आह्वान
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही साउन ८ गते बेलुका ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् ।
उनले नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् । उनले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
गत असार २४ गते नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नै प्रदेश प्रमुख समक्ष राजीनामा पेश गरेका थिए ।
उनको राजीनामालाई स्वीकृती प्रदान गरेलगतै प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीका गरी ११० जना प्रदेश सभाका सदस्यहरु रहेका छन् ।