हेटौंडा–१९ मा आँखाको पर्दा जाँच कार्यक्रमको आयोजना

तु खबर संवाददाता
२०८१ श्रावण ८,मंगलवार १६:३६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, स्थित तपोवन टोल विकास संस्थामा मधुमेहका बिरामी तथा ५० वर्ष भन्दा बढी उमेर भएका व्यक्तिहरूका लागि आँखाको पर्दा जाँच कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रम टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको हो ।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

पछिल्लो समय मधुमेह र उच्च रक्तचापका बिरामीहरु बढ्दै गएको र त्यस्ताखाले बिरामीको आँखालगायत शरिरको विभिन्न अंगहरुमा असर पार्ने गरेको बताउँदै नगर समन्वय समितिका अध्यक्ष अधिकारीले त्यस्ता समस्या हुनबाट समयमै सचेत गराउन उक्त आँखा जाँच कार्यक्रमको आयोजना गरेको बताए ।

उनका अनुसार, यस्ता प्रकारको कार्यक्रम हेटौंडा नगरभरी संचालन गरिनेछ । आज सम्पन्न कार्यक्रममा ९० जनाको आँखा परीक्षण गरिएको छ ।

शिविरमा आएकामध्ये मधुमेहका कारण २० जना बिरामीको आँखामा समस्या देखिएको सामुदायिक आँखा अस्पतालका प्रशासन प्रमुख सुधीर भद्र श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा हेटौंडा–१९ का वडाध्यक्ष नरनाथ सुबेढी, हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा.सुनिल थकाली, प्रशासन प्रमुख सुधिर श्रेष्ठ, प्राविधिक मीनबहादुर रोकाया, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, सदस्य श्याम कुमार रिमाल, वडा समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष देवेन्द्र अर्याल लगायतको सहभागिता रहेको थियो ।