मन्त्री श्रेष्ठद्वारा प्रगति विवरण सार्वजनिक

तु खबर संवाददाता
२०८१ श्रावण ९,बुधबार १०:३०
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आफ्नो कार्यकालमा गरेको कार्यको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री श्रेष्ठले आफुले नेतृत्व गरेको २०७९–१०–११ देखि २०८१–०४–०६ सम्म सम्पादन गरेका प्रमुख कार्यको प्रगति विवरण मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।

मन्त्री श्रेष्ठले १६ महिने कार्यकालको क्रममा प्रदेश प्रहरीका क्रमागत र नयाँ गरी प्रहरी भवण निर्माणका लागि ६३ करोड ९ लाख ४८ हजार रकम बागमती प्रदेश प्रहरी कार्यालयलाई अख्तियारी प्रदान गरेको जानकारी दिए ।

त्यस्तै, द्वन्द्व पीडित सवलीकरण कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यविधि स्वीकृत गरी व्यक्तिले आफै सञ्चालन गरेका व्यवसाय र आवद्ध पेशालाई सहयोग पुग्नेगरी कुल १ सय १२ जनालाई १ लाखका दरले १ करोड १२ लाख रकम प्रदान गरिएको उनले बताए ।

प्रदेशका उपत्यका बाहेकका १० जिल्लामा ट्राफिक सचेतना, ट्राफिक प्रहरी र समुदाय संवाद कार्यक्रमसँग सम्बन्धित रहेर ट्राफिक सप्ताह कार्यक्रम कार्यान्वयन गरिएको, विपद् खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन झण्डै ३ करोड बराबरको लागतमा ६४ प्रकारका विपद् उद्धार सामग्री खरिद गरी भण्डारण गरिएको उनले उल्लेख गरे ।

साथै उनले चालु आर्थिक वर्षमा पत्रकार बीमा अन्तरगत कुल ४ सय ४० जनाको बीमा गरिएको, चलचित्र सम्बन्धि विधेयकको मस्यौदा तयार गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति भएको र सञ्चार रजिष्ट्रारको कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म कुल रु ९५ लाख ३९ हजार ९ सय ८९ रकम राजस्व संकलन लगायतका कामहरु भएको उल्लेख गरे ।