बागमती सरकारद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

तु खबर संवाददाता
२०८१ श्रावण ९,बुधबार १८:५६
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले काठमाडौंस्थित त्रिभुवन विमानस्थलभित्र भएको सौर्य विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्रदेशको नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले उक्त दुर्घटनामा परेर मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको कृषि तथा पशुपंक्षी मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए ।

साथै उक्त बैठकले दुर्घटनामा परेर मृत्यु भएका पीडित परिवारप्रति गहिरो समवेदनमा प्रकट गरेको मन्त्री श्रेष्ठले बताए ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

१९ जना सवार उक्त जहाजमा एक जना भने घाइते छन् । घाइते हुनेमा पाइलट मनिष शाक्य रहेका छन् । उनको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, बैठकले केही हप्ताअघि चितवनको सिमलतालमा  पहिरोमा परेर त्रिशुली नदीमा पुरिएर मृत्यु भएकाहरुप्रति  पनि श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति गहिरो समवेदनमा प्रकट गरेको मन्त्री श्रेष्ठले बताए । उक्त पहिरोमा पुरिएर दुई वटा बस र बसमा सवार यात्रुहरु बेपत्ता भएका थिए ।

उनका अनुसार, ती घटनामा उद्दार कार्यमा विपद्को तर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र भारतबाट आएका उद्दार टोलीलाई पनि धन्यवाद व्यक्त गरेको छ ।

बैठक मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बसेको हो ।