तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण
मकवानपुर । बागमती प्रदेश युवा परिषदद्वारा आयोजित विभिन्न प्रकारका तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
बिहीबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी युवा परिषद्ले तालिममा सहभागी २ हजार युवाहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।
प्रदेशको १३ जिल्लामध्ये मकवानपुर, चितवन र सिन्धुली गरी तीन जिल्लामा युवा परिषद्मार्फत् सिप सिकेका युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
कार्यक्रम प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता एवम् युवा परिषद् बागमतीका कार्यबहाक उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्षतामा भएको हो ।
सो क्रममा प्रमुख अतिथि एवम् सभामुख घिमिरेले वर्तमान समयमा युवामैत्री सरकार आवश्यक रहेको उल्लेख गरे । उनले राष्ट्र निर्माणको लागि सरकार र युवाशक्ति बिच नजिकको सम्बन्ध हुनुपर्नेमा जोड दिए । गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको उनको भनाई छ ।
कार्यक्रममा संघीय संसदका मुख्य सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधि सभाका सदस्य महेश कुमार बर्तौला, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ लगायतले मन्तव्य राखेका थिए ।
युुवा परिषद्ले गत आर्थिक वर्ष २०८०–८१ मा टेलरिङ्ग, फेसन डिजाइनर, ब्यूटिसियन, मन्टेश्वरी लगायतका २१ प्रकारका आधारभूत तालिम दिएको थियो ।