आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक

तु खबर संवाददाता
२०८१ श्रावण ११,शुक्रबार १६:१५

काठमाडौं । सरकारले शुक्रबार आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

गभर्नर अधिकारीले अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत् निरन्तरता दिइएको बताए ।

मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत राखिएको छ ।

यस्तै, मुद्रास्फीतिलाई ५ दशमलव ० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६ दशमलव ५ प्रतिशत र नीतिगत दर ५ दशमलव ५ प्रतिशतबाट ५ दशमलव ० प्रतिशत कायम गरिएको छ ।

यस्तै, ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३ दशमलव ० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको छ भने बैंक दरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने बैंकले जनाएको छ ।