त्रिशुलीमा बेपत्ता बस र यात्रु खोज्न आएका भारतीय विशेषज्ञ टोली फिर्ता
काठमाडौं । त्रिशुलीमा खसेर बेपत्ता भएका दुई वटा डिलक्स बस र यात्रु खोज्न आएका भारतीय विशेषज्ञ टोली फिर्ता गएका छन् ।
भारतबाट ४ जना गोताखोरसहित आएका १२ जना विशेषज्ञले साउन ६ देखि बस र यात्रुको खोजी गरे । तर, बस र यात्रु नभेटिएपछि सो टोली फिर्ता गएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
उक्त टोलीले चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र आसपासको क्षेत्रमा खोजी गरेका थिए । भारतीय एनडीआरएफको खोजी कार्यमा ३ वटा सोनार क्यामेरा र म्याग्नेट प्रयोग गरेका छन् ।
उनीहरूले ल्याएको २० किलोको एउटा चुम्बक त्रिशूलीमा नै हराएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बलका १३ जना गोताखोरले खोजीकार्य गरिरहेको छ ।
गत असार २८ गते शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंको लागि छुटेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स पहिरोसँगै त्रिशुली नदीमा खसेर बेपत्ता भएको थियो ।