३१ वटा युट्युब च्यानल कारबाहीमा

तु खबर संवाददाता
२०८१ श्रावण १६,बुधबार ०९:४४

काठमाडौं । प्रेस काउन्सिल नेपालले ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति/कम्पनी) लाई कारबाही गरेको छ ।

काउन्सिलले आज विज्ञप्ति जारी गर्दै पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गरेको जानकारी गराएको हो ।

जारी विज्ञप्तिमा सञ्चारमाध्यमका रूपमा दर्ता÷सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको उल्लेख छ ।

मिडियाअन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिइएको छ ।

काउन्सिलले हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने खालका युट्युब च्यानल सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको विज्ञप्तिमा भनिएको छ ।