बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुलाई कांग्रेसको शुभकामना

तु खबर संवाददाता
२०८१ श्रावण १६,बुधबार १५:४७

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई शुभकामना दिएको छ ।

पार्टीले बुधबार बिहान हेटौंडामा एक कार्यक्रमको आयोजना गरी पार्टीका तर्फबाट बागमतीको मुख्यमन्त्रीमा नियुक्त बहादुर सिह लामा र ७ जना मन्त्रीहरुलाई बधाईका साथ शुभकामना ज्ञापन गरेको हो ।

कार्यक्रम कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षता एवम् नवनियुक्त मुख्यमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा प्रमुख अतिथि समेत रहेको मुख्यमन्त्री लामाले पार्टीसँगको समन्वय र सहकार्यबाट प्रदेशवासीको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।

यस्तै, पार्टी प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य बानियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै पार्टीसँगको समन्वय र सहकार्यमा आम नागरिकको हितमा काम गर्न आग्रह गरे ।

नवनियुक्त मन्त्रीहरुले कसरी प्रदेशको हितमा केन्द्रित भएर जनपक्षीय काम गर्नुपर्छ भन्नेबारेमा पार्टीले सुझावसमेत दिएको कांग्रेस बागमतीका प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।

बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा पार्टी प्रदेश महामन्त्री कञ्चनचन्द्र बादे, सह–महामन्त्री जीवन डंगोल, जिल्ला सभापतिहरुको तर्फबाट मकवानपुरका सभापति बुद्ध लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा लामासहित आर्थिक मामिला तथा योजना मन्त्रीमा कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजना मन्त्रीमा सुरजचन्द्र लामिछाने, सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्की, खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्रीमा श्यामबहादुर खड्का, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा विमल ठकुरी, युवा तथा खेलकुद मन्त्रीमा मीनकृष्ण महर्जन र विनाविभागीय मन्त्रीमा मदुकुमार श्रेष्ठ चयन भएका छन् ।