‘मध्यवर्ती क्षेत्रको समस्या समाधान गर्न प्रयासरत छौँ’

तु खबर संवाददाता
२०८१ श्रावण १७,बिहीबार १०:२२

सवालः मनहरी गाउँपालिका ६ नम्वर वडा अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहनुभएको छ, तपाईँको नेतृत्वमा वडाको समग्र विकासका लागि के कस्ता काम भए ?

जवाफः धन्यवाद । म यस वडामा निर्वाचित भएपछि सर्वप्रथमत जनताको गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्नेतर्फ विकासका कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रयास गरिरहेको छु । धेरै काम भएका छन्, अझै गर्न धेरै बाँकी छ । हामी निरन्तर प्रयासरत छौँ ।

भौतिक पूर्वाधारको क्षेत्रमा, कृषि पशुपालन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा मात्रै नभई सामाजिक सांस्कृतिक विकासका लागि वडाबाट विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । सडक नपुगेको ठाउँमा पुर्याएका छौँ, कच्ची सडकलाई ढलान गरेका छौँ । नालाहरु बनाएका छौँ ।

खानेपानीमा सबैको पहुँच स्थापित गर्न काम गर्यौँ । वडाभित्रका विद्यालय, संघसंस्थाहरुको भवन संरचना निर्माणका कामहरु भएका छन् । जनचेतनामुलक कामहरु भएका छन् । महिला सशक्तिकरण, बृद्धबृद्धालाई सम्मानका कामहरु, युवा नेतृत्व विकास तथा बालबालिकालक्षित कार्यक्रमहरु गर्यौँ । विभिन्न किसिमका सिपमुलक तालिमहरु सञ्चालन भइरहेका छन् । पहिला २ वटा आमा समूह थियो । हामीले अहिले १५ वटा आमा समूह गठन गरेर नियमित रुपमा बैठक राखी आमाहरुको स्वास्थ्य जाँच गर्ने, सचेत गराउने, सरसफाई सम्बन्धि जानकारी दिनेलगायतका कामहरु गरिरहेका छौँ ।

साबुन बनाउने, सिलाइकटाइ सम्बन्धि तालिमहरु कृषितर्फ बाख्रा पालन सम्बन्धि, बेमौसमी तरकारी खेतीसम्बन्धि विभिन्न तालिमहरु मात्र नभई हामीले खर्च व्यवस्थापन कसरी गर्ने, बचत कसरी गर्ने भन्ने विषयमा समेत वडावासीलाई जानकारी दिइरहेका छौँ । न्यून आर्थिक अवस्था भएका दलित तथा जनजाती समूदाय तथा सुकुम्बासीहरुलाई लक्षित गरेर पनि विभिन्न कार्यक्रमहरु अघि बढेका छन् । अन्य वडाबाट सम्पादन हुने प्रशासनिक कामहरु त निरन्तर भइरहेकै छन् । समग्रमा अझै जनताको धेरै अपेक्षा पूरा गर्न बाँकी छ । त्यसलाई पूरा गर्न हामीसँग उपलब्ध साधन स्रोतको सही सदुपयोग गर्दै अघि बढिरहेका छौँ ।

सवालः जनप्रतिनिधिको दृष्टिकोणमा जनताको मुख्य आवश्यकता वा अपेक्षा के–के पाउनुभयो ? त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ?

जवाफः महत्वपूर्ण विषय उठाउनुभयो । हिजो पदमा नहुँदा पनि हामीले जनताको समस्याको पहिचान गरेका हौँ । आज जिम्मेवारीमा आइसकेपछि त्यसलाई क्रमैसँग समाधान गर्ने प्रयास गरिरहेको छु । जे बोलेको छु, त्यो गरेकै छु । गर्न नसकिने कुरा बोल्न पनि हुँदैन भन्ने लाग्छ । जनताको समस्या वा गुनासो सम्बोधन गर्न सम्बन्धित निकायलाई झकझकाउने, उहाँबीच हुने विवाद समाधानको प्रयास गर्ने, आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनपक्षीय काम गरिरहेको छु । मलाई लाग्छ जनताको आवश्यकता अपेक्षा पनि त्यही हो ।

जनप्रतिनिधिले स्वार्थ त्यागेर जनपक्षीय रुपमा वडामा भएको साधन स्रोतको सही सदुपयोग एवम् जनतासामु पुर्याउनु नै त हो । उहाँहरुले खोजेको बेला उपस्थित हुनुपर्यो । दुखसुखमा सँगै हुनुपर्यो । समाजमा मेलमिलाप एकता र भाइचाराको सम्बन्ध स्थापना गर्न जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्यो ।

भौगोलिक रुपमा हाम्रो वडा केही दुर्गम छ । रुपाचुरीलगायतका केही ठाउँमा यातायात पूर्वाधारको विकाससँगै अन्य सुविधाहरुको विस्तार गर्न बाँकी छ । चाँडै विकास भइदिए हुन्थ्यो भन्ने त्यहाँका बासिन्दाहरुको चाहाना छ । हामी एकदमै गम्भीर भएर लागिपरेका छौँ । जनताको चाहाना जतिसक्दो चाँडो आफ्नो ठाउँको आवश्यकताको परिपूर्ति भइदिए हुन्थ्यो भन्ने चाहानुभएको हुन्छ । त्यो स्वभाविक पनि हो । तर, हामीसँग भएको स्रोतसाधन, बजेटलाई मुल्याङ्कन गरी सबैतिर समतामुलक विकासको काम अगाडि बढाइरहेका छौँ ।

सही जानकारीको कमीका कारण कहिलेकाँही विभिन्न काम लिएर वडा आउनुभएका केहीले कागजपत्र नै नलिइआउनुहुन्छ । प्रक्रिया मिचेर काम गर्न पनि मिलेन, उहाँहरु खिन्न भएर फर्कनुपर्दा मलाई झन बढी पीडा भइरहेको हुन्छ । सकेसम्म, मिल्नेसम्म त हामीले सहजिकरण गरिदिने गरेकै छौँ । हामी वडामा जानकारीमुलक कार्यक्रम पनि सञ्चालन गर्छौँ ।

हामी जनताकै काम गर्न आएका छौँ । सुरुका दिनमा जहाँ समस्या हुन्छ । विस्तारै सहज हुँदै जाने हो । सहज हुदैँ पनि गएको छ । जनतासँग मिलेर उहाँहरुको आवश्यकता पूरा गर्न पाउँदा खुसी पनि लाग्छ । गर्न बाँकी धेरै काम सम्झेर चाँडो गरौँ भन्ने खालको हुटहुटी पनि हुन्छ ।
कतिपय कामहरु कानूनी झमेलाका कारण वा आर्थिक स्रोतको अभावका कारण पनि रोकिएका हुन्छन् । जस्तै हाम्रो वडामा सिमित बजेट आएको हुन्छ । तर, योजना धेरै भन्दा धेरै हुँदा सबैको एकैपटकमा पूरा गर्न सकिँदैन । आवश्यकताको प्राथमिकताको आधारमा हामीले मिलाएरै गरिरहेका छौँ ।

सवालः यो वडा मध्यवर्ती क्षेत्रमा पर्छ । निकुञ्जमा संरक्षित बन्यजन्तु आएर कहिलेकाँही जनधनको क्षति भएको पनि समाचार सुनिन्छ । यो समस्या कसरी समाधान गर्न सकिएला ? वडाले कसरी पहल गरिरहेको छ ?

जवाफः हाम्रो वडा अन्य वडाको तुलनामा जनघनत्व पनि बढी, भूभाग पनि बढी भएको वडा हो । त्यस्तै भौगोलिक रुपमा अलि विकट पनि छ । सागै चितवन राष्ट्रिय निकुञ्जले छोएको हुनाले प्रत्येक दिन निकुञ्जका बन्यजन्तले वडावासीलाई दुख दिइरहेका छन् । समयसमयमा जनधनको क्षति पनि भइरहेको छ । हामी मध्येवर्ती क्षेत्रमा भएकाले निकुञ्जबाट प्रत्येक दिनजसो जंगली हात्ती, गैडाँ, बाघ आउने जनधनको क्षति हुने अन्नबाली नष्ट हुने भइरहेको छ । निकुञ्जलाई समस्या सम्बोधन गर्न पहल गर्दा उहाँहरु ऐलानी जग्गामा क्षतिपूर्ति दिन मिल्दैन भन्नुहुन्छ । हाम्रो वडामा ७० प्रतिशत ऐलानी र ३० प्रतिशत मात्रै नीजि स्वामित्वको जमिनमा मानिसहरुको बसोबास छ । समस्या त्यसकारण भइरहको छ ।

निकुञ्जमा सिमित कार्मचारी प्रशासन छ । उहाँहरुले मात्रै बनजंगल र बन्यजन्तुको संरक्षण गर्न सम्भव छैन । त्यही माध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका भूमिहिन सुकुम्बासीले नै बन्यजन्तु र बनजंगल संरक्षण गरेर आज यो अवस्थासम्म निकुञ्ज आइपुगेको छ । तर, त्यँहीका जनतालाई निकुञ्जले संरक्षण दिइरहेको छैन । बाटोघाटो खल्डाखुल्डी भएर ग्राभेल ल्याएर हाल्नुपर्दा आफ्नो नजिकको खोलाबाटा ल्याएर हाल्न पाइँदैन । निकञ्जले आएर रोक्छ । बाटो सम्माउनपर्यो भने पनि निकुञ्जले अवरोध गर्छ । अनुमती लिन जानु भन्छ । ४ पटक धाउँदा पनि काम हुँदैन । यसरी जनताको काम कसरी गर्ने ? हरेक कार्यमा निकुञ्जले समस्या सिर्जना गरिरहेको छ । जनता त्रासमा बाँचिरहेका छन् ।

बर्षौँदेखि भोग गर्दै आएको जग्गामा निकञ्जले घर बनाउन दिँदैन । जनताको हितमा हामीले काम गर्र्यौँँ भने निकुञ्जले मुद्धा चलाउँछ । म त जनताको काम गर्दा मुद्धा चलाएपनि चलाओस् भनेर निडर भएर काम गरिरहेको छु ।

जग्गा चाँही निकुञ्जको जनतामात्रै हाम्रो भन्ने खालको अवस्था छ । अनि कसरी काम गर्नु ? धेरै समस्या छ । हामी नीतिगत रुपमा समाधानको उपाय खोजिरहेका छौँ । निकुञ्जकै कारण जनताको अपेक्षा पुरा गर्न कठिनाई भइरहेको हो ।

सवालः राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था, सञ्चार क्षेत्र वा अन्य निकायसँगको सहयोग समन्वय सन्तोषजनक छ कि छैन ?

जवाफः सबै क्षेत्रसँगको समन्वयलाई हामीले निरन्तरता दिइरहेका छौँ । सबै क्षेत्रबाट सहयोग पनि भइरहेकै छ । अपेक्षाकृत छैन । तर नभएको पनि होइन ।

अब राजनीतिक दलको कुरा गर्नुपर्दा देशमा स्थिर राजनीति नभएसम्म विकास गर्न कठिन हुन्छ । अस्थिर सरकार बन्दा स्थानीय क्षेत्रको विकासमा समेत त्यसले प्रत्येक्ष असर परिरहेको छ । अब मुलुकमा प्रत्येक्ष कार्यकारी पदका लागि निर्वाचन हुनुपर्छ जस्तो लाग्छ । अनि मात्रै स्थिर सरकार बन्छ र विकासले गति लिन्छ ।

सवालः राजनीतिक क्षेत्रमा चाँही तपाईँको आवद्धता कहिलेबाट भयो ?

जवाफः म विगत २० बर्षअघि नै राजनीतिमा लागेको हुँ । सुरुमा जनमोर्चा नेपालमा थिएँ । जनमोर्चाको अखिल नेपाल जनबादी युवा संगठनको क्षेत्रीय संयोेजकका रुपमा काम गरेँ । संगठन विस्तारमा ठूलो योगदान दिएको थिएँ उतिबेला । तर, केही समय बैदेशिक रोजगारीमा जानुपर्यो । त्यसपछि माओबादी र जनमोर्चाबीच एकता भयो । बैदेशिक रोजगारीबाट फर्किएपछि कतै पनि आवछ नभई बसेको थिएँ । सक्रिय राजनीतिबाट नेतृत्व प्राप्त गर्न र जनताको सेवा गर्न सहज हुन्छ भन्ने लाग्यो र नेपाली काँग्रेसमा आवद्ध भएँ । अहिले राजनीतिक आवद्धता नेपाली कांग्रेसमा भएता पनि मेरो जिम्मेवारीका हिसाबले मेरोलागि सबै विचार बोक्ने जनता समान हुन् । मैले राजनीतिक रुपमा विभेद नगरी सबैको सम्मान हुने गरी काम गर्ने प्रयास गरिरहेको छु ।

सवाल: आगामी योजनाहरु के–के छन् ?

जवाफः राम्रा कामहरुलाई निरन्तरता दिन सक्रिय भएर लाग्नेछु । पूरा गर्न बाँकी कामहरुलाई पूरा गर्न पहल गर्छु । जनप्रतिनिधि हुनु अगाडि चोकचौतारामा जे भाषण गरेको थिएँ, चुनावी घोषणपत्रमा जे लेखेको थिएँ, जनतालाई जुन भरोषा दिलाएको थिएँ, सोही अनुसार काम गर्छु ।
आफ्ना बाचा पूरा गर्न अन्तिमसम्म पनि प्रयास गर्छु । आन्तरिक स्रोत बढाउन पहल गर्छु । कानूनी झमेला हटाउन नीतिगत पहल गर्छु । जनताको सबै अपेक्षा पूरा गर्न सकिन भनेपनि जनतासँगै हुन्छु । उहाँहरुकै घर आँगनमा हुन्छु ।

सवालः अन्तर्वार्ताको अन्त्यमा केही भन्नुहुन्छ कि ?

जवाफः म वडाका सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदिबहिनी एवम् सबैमा धन्यवाद दिन चाहान्छु । तपाईँहरुले मन र मत दिनुभयो । विश्वास गरेर जिम्मेवारी दिनुभयो । तपाईँहरुको मतको उच्च सम्मान गर्दै वडाको समग्र विकास र वडाबासीको हितका लागि निरन्तर काम गर्नेछु । जनपक्षीय काम गरिरहेको छु, गर्नेछु । वडाबासीलाई निराश हुने वातावरण बनाउने छैन ।

मेरो नेतृत्वमा केही नयाँ काम भयो है भन्ने वातावरणचाँही बनाउनेछु । र अन्त्यमा, तु खबरले विभिन्न क्षेत्रका व्यक्तिहरुको विचार समेटिरहेको हुन्छ । आज मैले पनि अवसर पाएँ । हाम्रो वडाको विषयमा चासो दिनुभयो, हाम्रो कुरा जनतासामु पुर्याउने अवसर दिनुभयो । तु खबरलाई धेरै धेरै धन्यवाद ।