कक्षा १२ को नतिजा सार्वजनिक, सबैभन्दा बढी अंग्रेजी विषयमा फेल
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । नतिजा वेबसाइटमार्फत् सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७ दशमलव ०९ प्रतिशत विद्यार्थी नन् ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् ।
नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् भने ग्रेड वृद्धितर्फ २०७८÷७९ का २८ दशमलव २६ प्रतिशत र २०७६/०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।
सबैभन्दा बढी अंग्रेजी विषयमा फेल
यस वर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल (अनुत्तीर्ण) भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ ।
यस्तै, एनजी ल्याएर मौका परीक्षा दिन पाउने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ जना रहेका छन् ।
पूरक परीक्षा आगामी भदौ २५ र २६ गते सञ्चालन गर्ने तयारी गरिएको बोर्डले जनाएको छ ।