प्यारापिटसहितको फुटबल रङ्गशाला निर्माण गर्दै बागमती गाउँपालिका

तु खबर संवाददाता
२०८१ श्रावण २१,सोमबार ०९:५०

मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाले प्यारापिटसहितको फुटबल रङ्गशाला निर्माण गर्दैछ ।

पालिकाले आफ्नै लगानीमा ४ नम्वर वडास्थित झुरझुरेमा सहिद स्मृति रङ्गशालाको निर्माण कार्य गरिरहेको छ । उक्त निर्माणाधीन रङ्गशालाको काम हाल अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।

उनका अनुसार, पालिकाले गत आर्थिक वर्ष २०८०–०८१ को असोज १७ गते ठेक्का आह्वान गरी रङ्गशाला निर्माणको कार्य सुरु गरेको थियो ।
निर्माणाधीन रङ्गशालामा सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्नेगरी तयारी गरिएको अध्यक्ष घलानले बताए ।

सो रङ्गशाला २२ हजार ९२५ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन भइरहेको र खेलमैदानको उत्तर–पश्चिम दिशामा ६२ मिटर लम्बाई र १२.५ मिटर चौडाइको प्यारापिट बन्दै गरेको छ । प्यारापिट करिब दुई हजार पाँच सय दर्शक अटाउने क्षमताको रहेको उनले बताए । रङ्गशाला निर्माणका लागि स्थानीय, नेता, कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारीले समेत श्रमदान गरेको उनले बताए ।

अहिले रङ्गशालाको ट्रस (छाना) सहितको प्यारापिट, ड्रेन (नाला), फेन्सीङ वायरसहितको घेराबार, ड्रेस चेञ्जिङ रुम, शौचालयको निर्माणकार्य भइरहेको सबइन्जिनियर काशी रावलले जानकारी दिए । रङ्गशालाको खेलमैदान, एथ्लेटिक्स ट्रयाक, मिनी ग्राउन्ड निर्माणलगायतका कार्य गाउँपालिकाबाट गरिरहेको र थप केही काम जनश्रमदानमार्फत् भइरहेको उनले बताए ।

गत माघ ४ गते भएको सम्झौताअनुसार आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षको माघ ३ गतेसम्ममा सम्पन्न गर्नुपर्ने गाउँपालिकाका सब इन्जिनियर राजेन्द्रबहादुर बोहराले जानकारी दिए ।