प्रधानमन्त्री ओलीले गरे घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ब्रेक थ्रु गरेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार मकवानपुरको बकैया गाउँपालिका–१२, धेद्रेमा आयोजित एक कार्यक्रमबीच घट्टेपाखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले मुलुकमा अब विकास निर्माणको गति नरोकिने भन्दै नेपाल सुरुङ युगसँगैं नयाँ युगमा प्रवेश गरेको बताए । उनले द्रुतमार्ग निर्माणमा देखिएको व्यवधान राजनीतिक मात्र नभई अर्थतन्त्रसँग पनि जोडिएको स्पष्ट पारे ।
उनले नेपालमा विकास जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा हुन नसकेको जिकिर गरे । आयोजनाहरुलाई सुरु गरेर छाड्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताउँदै उनले नयाँ योजना थाल्नुभन्दा पनि सुरु गरिएका आयोजनाहरु सम्पन्न गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।
धेद्रे सुरुङ ‘ब्रेक थ्रु’ सँगै प्याकेज नं. २ अन्तर्गतका सबै सुरुङ खोल्ने काम सम्पन्न भएको छ । निजगढ–कामाठाडौंतर्फको १ दशमलव ६ सय ५३ किमी धेद्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भएको थियो ।
‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
आगामी २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको उक्त आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा रहेको र बाँकी चार पुल खोकना क्षेत्रमा रहेका छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको जनाइएको छ ।
‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही तथा नेपालका लागि चीन र दक्षिण कोरियाका राजदूतको सहभागिता रहेको थियो ।