सांसद् सिंहले गरे तिलगंगा आँखा अस्पताल प्रतिष्ठानलाई आर्थिक सहयोग

तु खबर संवाददाता
२०८१ श्रावण २२,मंगलवार १७:३८

मकवानपुर । मकवानपुर जिल्लाको क्षेत्र नम्वर १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्य दीपक सिंहले तिलगंगा आँखा अस्पताल प्रतिष्ठानलाई आर्थिक रकम सहयोग गरेका छन् ।

पूर्वाधार विकास समितिका सभापति समेत रहेका सिंहले मंगलबार हेटौंडामा अयोजित एक कार्यक्रमबीच तिलगंगा आँखा अस्पताल प्रतिष्ठान काठमाडौंका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई आर्थिक रकम हस्तान्तरण गरेका हुन् ।

सांसद् सिंहले आफुले प्रतिनिधि सभाको सचिवालयबाट प्राप्त गर्दै आएको एक वर्षको पारिश्रमिकलाई थपेर रु ९ लाख ९९ हजार ९९ रुपैयाँको चेक डा. रुइतलाई हस्तान्तरण गरेका हुन् ।

सो आयोजित समारोहलाई सम्बोधन गर्दै सांसद् सिंहले गत प्रतिनिधि सभाको निर्वाचनको समयमा आफुले गरेको प्रतिबद्धता अनुसार प्रतिष्ठानलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको बताए । उनले भावि दिनहरुमा पनि आफुले प्रतिष्ठान र जनताको लागि सहयोग प्रदान गर्दै लैजाने नीति रहेको उल्लेख गरे ।

उनले समाजमा अत्यन्तै विपन्न, सिमान्तकृत आदीवासी जनजाति, दलितहरुको स्वास्थ्य उपचार गर्ने कार्यमा चिकित्सकहरुले मानवियताको भावना राखेर छिटोछरितो उपचार सेवालाई प्रभावकारी बनाइदिन पनि आग्रह गरे ।

यस्तै, प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले देशको सातै प्रदेशका विपन्न, सिमान्तकृत समुदायका सर्वसाधारण नागरिकहरुको आँखाको शल्यक्रिया र उपचार सेवाको लागि उज्यालोको नयाँ जीवन प्रदान गर्न उक्त रकमको सदुपयोग गर्ने बताए । साथै उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडीमा निर्माणधिन आँखाको लेन्स उत्पादन गर्ने भवनको लागि पनि सो रकम प्रयोग गर्ने बताए ।

यसैगरी, कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पतालका निर्देशक डा. सुनिल थकालीले अहिले दैनिक ३०० देखि ४०० बिरामी उपचार सेवाको लागि आउने गरेको जानकारी दिए । उनले ती बिरामीहरुको आँखा परीक्षण गरिएलगतै आँखामा मोतिविन्दुको रोग देखा परेका बिरामीहरुलाई तत्कालै आँखाको अप्रेशन गरेर नयाँ उज्यालो जीवन दिने गरेको पनि बताए । अब लेन्सको उत्पादनबाट सर्वसाधारण नागरिकलाई सुपथ मुल्यमा लेन्स प्रदान गर्न सकिने उनको भनाई छ ।