कान्तिलोकपथमा हलुका सवारीसाधन सञ्चालन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा गएको पहिरो पन्छाई हलुका सवारीसाधन संचालनमा ल्याइएको छ ।
उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका वडा नम्वर–२ पाङ्दुरे र छबेनीमा सोमबार आएको वर्षाको कारणबाट पहिरो जाँदा यातायात अवरुद्ध भएको थियो । उक्त स्थानहरुमा गएको पहिरो पन्छाई आज अपराह्नबाट हलुका सवारीसाधन सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय भट्टेडाँडाले जानकारी दिएको छ ।
यसैगरी, उक्त कान्तिलोकपथ अन्तरगत रहेको मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर–८, महादेवटारस्थित सडकमा गएको पहिरो पन्छाएर गएरातिबाट पुनः हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए ।
प्रहरी निरीक्षक पण्डितले उक्त कान्तिलोपथ अन्तरगतकै महादेवटारको सडकको तीन स्थानमा गएको ठूलो–ठूलो पहिरोको कारणबाट हेबी सवारीसाधनहरु सञ्चालनमा ल्याउन कठिनाई भइरहेको बताए । उनले उक्त सडकखण्डमा दुबैतर्फी सवारीसाधन र हेब्बी सवारीसाधन संचालन गर्न अझै केही समय लाग्ने बताए ।
हेटौंडाबाट काठमाडौंतर्फ दैनिक त्रिभुवन राजपथ, हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी, फाखेल र मातातीर्थको सडकमा पनि यातायात सञ्चालन भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए ।