पहिरोका कारण अवरुद्ध कान्तिलोपकथमा पुुनः यातायात संचालन

तु खबर संवाददाता
२०८१ श्रावण २७,आईतवार ०९:५९

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथमा गएको पहिरो पन्छाइ पुनः यातायात संचालनमा ल्याइएको छ ।

ललितपुरको बागमती गाउँपालिका वडा नम्वर ६ रातो पहाड नजिकै आज बिहान साढे २ बजे गएको पहिरो पन्छाई बिहान ९ बजेदेखि एकतर्फी हल्का सवारी साधनहरुलाई संचालनमा ल्याएको इलाका प्रहरी कार्यालय भट्टेडाँडाले जनाएको छ ।

प्रहरीका अनुसार, मौसममा सुधार भएमा आजै साँझसम्मा हेबी सवारी साधनहरुलाई पनि संचालनमा ल्याउने प्रयास भइरहेको छ ।

यस्तै, सोही सडकखण्ड अन्तरगत पर्ने मकवानपुरतर्फको सडकमा भने अझै एक हप्तापछि मात्रै हेबी सवारी साधन संचालनमा ल्याउन सकिने मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए ।

उनका अनुसार, मकवानपुरतर्फको भीमफेदी गाउँपालिका वडा नम्वर ८ महादेवटारमा दुबैतर्फको सडकमा पर्खाल, ढल निर्माण र सडकलाई चौडाई गर्ने कार्य भइरहेकोले अझै एक हप्तापछि मात्रै हेवी सवारी साधनहरु संचालनमा ल्याउन सकिने भएको हो ।

यसैगरी, हेटौंडाबाट काठमाडौंतर्फ त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानीतर्फको सिस्नेरी, फाखेल र मातातिर्थ सडक, पूर्व–पश्चिम राजमार्गमा अहिले हेवी र हल्का सवारी साधनहरु संचालनमा रहेको प्रहरी निरीक्षक पण्डितले बताए ।