‘विद्यार्थी हितका लागि एकजुट बनौँ’
सवालः विद्यार्थी राजनीतिमा कहिलेबाट आवद्ध हुनुभयो ? हालसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ, समम्रमा विद्यार्थी राजनीतिप्रति तपाईँको बुझाई कस्तो छ ?
जवाफः धन्यवाद । म नीजि विद्यालयबाट २०६२ मा एसएलसी पास भएको हुँ । नीति विद्यालयमा त्यत्ति राजनीतिक गतिविधि हुँदैनथ्यो । सामूदायिक विद्यालयहरुमा तुलनात्मक रुपमा बढी राजनीतिक गतिविधि हुन्थे । त्यतिबेला देशमा गणतन्त्र प्राप्तिको लागि अन्दोलन भइरहेको थियो । म पनि उक्त आन्दोलनमा सहभागी हुने मौका पाएको थिएँ । तर, कुनैपनि दलमा भने म आवद्ध थिइनँ ।
सानैबाट मलाई कम्यूनिष्ट विचारधाराप्रति लगाब भने बढी नै थियो । स्वर्गीय मदन भण्डारीको जबज अध्ययन गर्ने मौका पाएँ । त्यसलगत्तै म कम्यूनिष्ट धारमा उभिएँ । ०६३ सालमा म युवा संघको वडाको सचिव भएर राजनीतिक क्षेत्रमा आवद्ध भएको हुँ । त्यतिखेर प्रजातान्त्रिक राट्रिय युवा संघ पनि थियो । मैले कक्षा १२ हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययन गरेको हुँ । त्यहाँ पनि राजनीति हुँदैनथ्यो । ०६५ सालमा मकवानपुर क्यापसमा प्रवेश गरेपछि मैले त्यहाँबाट अखिलको क्याम्पस कमिटिको सदस्य भएर विद्यार्थी राजनितिको औपचारिक सुरुवात गरेको हुँ ।
त्यसपछि मकवानपुर क्याम्पस कमिटीको सचिव भएँ । अनि मकवानपुरका ४ निर्वाचन क्षेत्रमध्ये म ३ नम्वर निर्वाचन क्षेत्रीय कमिटीको अध्यक्ष भएँ । ०७१ मा अनेरास्वावियु मकवानपुरको सचिव भएँ । ०७२ साल पछि हामीले आयोजक कमिटीमा रुपान्तरण गर्यौँ । त्यसपछि सोही आयोजक कमिटीको संयोजकको नाताले निरन्तर काम गरेँ ।
पार्टी संघठनको एकताको कामहरुले गर्दा फेरी केही समय संयोजककै जिम्मेवारीमा रहेर काम गरेँ । ०७८ सालमा अखिलबाट म जिल्लाबाट विदा भएँ । अनि केद्रिय कमिटी सदस्य, सचिवालय सदस्य र हालसालै ०७९ साल फागुनमा भएको अधिवेशनबाट निर्वाचित स्थायी कमिटी सदस्य भएँ । अहिले पनि विद्यार्थी हकहित र अधिकारको लागि निरन्तर काम गरिरहेको छु । यहाँसम्म आइपुग्दा विद्यार्थी राजनीतिले विद्यार्थीहरुको नेतृत्व व्यक्तित्व एवम् सर्वाङ्गीण विकासमा सहयोग पुर्याएको मैले महसुस गरेको छु । शैशिक क्षेत्रमा देखिएका विकृति न्यूनिकरणमा विद्यार्थी संगठनहरुको भूमिका उल्लेखनीय छ । शैशिक्ष गुणस्तर बृद्धिमा पनि अनेरास्ववियुले भूमिका खेलेको छ ।
सवालः तपाईँको बुझाइमा शिक्षाप्रणाली सुधारका लागि के गर्नुपर्ला ? यसका लागि नेतृत्वदायी भूमिका कसले निर्वाह गर्नुपर्ला ?
जवाफः वर्तमान शिक्षा प्रणालीमा सुधार आवश्यक छ । मलाई पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठज्यूको शिक्षा क्षेत्रप्रतिको सोच मनपर्छ । शिक्षकहरुले राजनीतिमा आस्था राख्नुपर्छ । शिक्षा क्षेत्र सुधारका लागि पहल गर्नुपर्छ । तर, तल्लो तहसम्मको राजनीतिकरण चाँही गर्नुहुँदैन भन्ने लाग्छ । विद्यालयमा हुने राजनीति शैक्षिक उन्नतीका लागि हुनुपर्छ । विद्यालय र विद्यार्थीको हितका लागि हुनुपर्छ । नेतृत्व व्यक्तित्व विकासका लागि हुनुपर्छ । तर, बाह्य राजनीतिक प्रभाव हुनुहुँदैन ।
विद्यार्थी संगठनहरुले पनि के बुझ्नुपर्यो भने कम्तिमा पनि कक्षा १० सम्मको अध्ययनका क्रममा बालबालिकाहरुलाई विद्यार्थी राजनीतिमा आवद्ध गराउन हुँदैन । किनकी १५/१६ वर्ष उमेरसम्मका विद्यार्थीहरुलाई मानसिकतामा नै गलत असर पर्न सक्छ ।
टिन एजमा सही र गलतको पहिचान गर्न अलि गाह्रो हुन्छ । त्यसकारण अध्ययनलाई भन्दा बढी राजनीतिलाई प्रामिकता दिँदा अध्ययनमा समस्या भएको र नजिता सकारात्मक नआएको थुप्रै उदाहरणहरु छन् ।
त्यसकारण अब मैले पहिलेदेखि नै भन्दै आएको छु, जसले उत्कृष्ट नतिजा ल्याउँछ उसैलाई अनेरास्ववियुको नेता बनाउनुपर्छ । म अनेरास्ववियु मकवानपुर क्याम्पसको सचिव हुँदा हामीले त्यो अभ्यास गरेका पनि थियौँ । ब्याचलरमा हामी पढ्ने बेला आफ्नो ब्याजको टपरमात्रै अनेरास्ववियुमा आबद्ध हुन्थ्यो ।
जुनसुकै विषयका विद्यार्थी हुन्, कमजोर नतिजा ल्याउने विद्यार्थीहरुलाई हामीले तपाईँहरु अध्ययनमा फोकस गर्नुस् भनेर सल्लाह दिन्थ्यौँ । उहाँहरुको समस्या समाधानको उपाय खोज्थ्यौँ । त्यसकारण कम्तीमा पनि एसएलसीसम्मको परीक्षापूर्व राजनीतिक गतिविधिमा संलग्न हुनुहुँदैन । शिक्षकहरुले पनि अध्ययनलाई प्राथमिकता दिनुपर्छ ।
सरकार पनि जवाफदेही हुनुपर्छ । सरकारले नीतिगत सुधार गर्दै शैक्षिक पूर्वाधार विकास गर्नुपर्छ । सरकारले लगानी बढाउँदै लैजानुपर्छ ।
सवालः विद्यार्थी संगठनबीच मतभेद हुनु स्वभाविक हो । तर, मनभेद नै देखिन्छ । फरक विचार राख्नेलाई पाखा लगाउने चलन बढ्दो छ । सबै एकजुट भएर अघि बढ्न अनेरास्ववियूले कसरी पहल गरिरहेको छ ?
जवाफः विद्यार्थी संगठनभित्र पनि विभिन्न विचार बोकेका मानिसहरु हुन्छन् । फरक विचार भएन भने संगठनमा राजनीतिक एकाधिकार बढ्छ र तानाशाही प्रवृत्ति मौलाउँछ । फरक विचारले नै संगठनलाई चेक एण्ड ब्यालेन्समा राख्छ । नेतृत्वले गरेका गतिविधि गलत छन् भने त्यो बेठिक भयो भन्न सक्नुपर्छ । हामी यही समाजका उत्पादन हौँ । हाम्रा गतिविधि सामाजिक हितका लागि समाजसँग जोड्न पर्छ ।
अहिले चाँही जस्तै मैले असहमति राखेँ भने मलाई भित्तामा पुर्याउनुपर्छ भन्ने खालको भावना साथीहरुमा देखिन्छ । नेतृत्वले जे गरेपनि सहयोग पुर्याउनेलाई माया गर्ने गलत भयो है भन्नेलाई पाखा लगाउने खालको मानशिकता हावी भएको छ । हामी त्यसरी अगाडि बढ्यौँ भने हामीले गन्तव्य भेट्न सक्दैनौँ ।
त्यसकारण सबैको सम्मान गर्नुपर्छ, फरक विचार सुन्नुपर्छ । त्यसले संगठनलाई व्यवस्थित र परिमार्जन गर्न सहयोग पुर्याउँछ । तर, फरक मत निषेधको लागि निषेध र बिद्रोहोको लागि बिद्रोह मात्रै हो भने त्यसलाई इग्नोर गर्नुपर्छ । राम्रा कुरा छन् भने समेटेर लैजानुपर्छ । एकजुट भएर विद्यार्थी हितका लागि विद्यार्थीको हक आधिकारको लागि एकजुट भएर लाग्नुपर्छ । हामी सबै विद्यार्थीकै हिका लागि, शैक्षिक क्षेत्रको उन्नतीको लागि भनेर आएका छौँ, अनि किन लड्नु किन जुध्नु ? फुटेर होइन जुटेर अगाडि बढ्नुपर्छ ।
सवालः विद्यार्थी हकहित र अधिकारको लागि अनेरास्ववियुले पनि त सोचेजस्तो काम गर्न सकेको छैन नी ?
जवाफः अहिले हामी डिजिटल युगमा छौँ ०६२/०६३ अघि र अहिले हाम्रा मागहरु पनि फरक/फरक छन् । पहिला हामी वैज्ञानिक, व्यावहारिक, बिक्न र टिक्न सक्ने शिक्षाको कुरा गथ्र्यौँ कुराकानी गथ्र्याैँ । विश्वबजारमा पनि कम्तीमा हाम्रो शिक्षा बिक्न सकोस् भन्ने कुरा गथ्र्यौँ । तर, अब डिजिटल युगमा हाम्रा मागहरु फरक भइसकेका छन् ।
हामीले अस्ति भर्खर विद्यार्थी महोत्सव गर्यौँ । ३ दिनको ऐतिहासिक कार्यक्रममा शैक्षिक प्रदर्शनी गर्यौँ । बहस विमर्ष गर्यौँ । शिप विकासलाई फोकस गर्यौँ । विज्ञबाट विभिन्न सुझाव वा तालिम दियौँ ।
हालसालै एसएलसी पास गरेका विद्यार्थीहरुलाई करियर काउन्सेलिङ गर्यौँ । उनीहरुलाई उच्च शिक्षा अध्ययनका लागि विषय छनौटमा सहयोग पुर्यायौँ । ह्वाट आफ्टर प्लस टु कार्यक्रम पनि चलायौँ ।
हामी विद्यार्थीको माग अनुसार डिजिटल प्रविधिको माध्ययमबाट विद्यार्थीहरुका लागि काम गरिरहेका छौँ । विमानस्थलमा विदेशीनेको लर्को छ । विद्यार्थीहरुलाई करियर काउन्सेलिङ गर्न नसक्दा, देशमा पनि केही गर्न सकिन्छ भन्ने भावना विकास गर्न नसक्दा त्यो समस्या देखिएको हो । त्यसकारण हामीले करियर काउन्सेलिङ र सिप विकासमा फोकस गरेका छौँ । विद्यार्थीहरुलाई मार्गदर्शन दिने हाम्रो कार्ययोजना छ ।
सबै तहका शैक्षिक संस्थामा स्वार्थका लागि राजनीतिक हावी हुनुहुँदैन । सरकारले सोही अनुसारको वातावरण तयार पार्नुपर्छ । हामी सबै पनि सचेत हुनुपर्छ । कम्तिमा पनि राष्ट्रसेवक कार्मचारी र राजनीतिक दलका अगुवाहरुको बालबच्चाहरु सरकारी विद्यालयमा पढाउनुपर्ने प्रावधान ल्याइनुपर्छ । त्यसले सकारात्मक सन्देश प्रवाह हुन्छ । सामूदायिक विद्यालयसँग सबै टचमा हुन्छन् । शैक्षिक गुणस्तर वृद्धि हुँदै जान्छ । हामीले यस विषयमा आवाज उठाउँदै आइरहेका छौँ ।
हामी शैद्धान्तिक भन्दा पनि विद्यार्थीहरुलाई प्राविधिक र प्रयोगात्मक विषय अध्ययन गर्न सल्लाह दिइरहेका छौँ । कम्तिमा पनि तपाईँले पढेको शिक्षाले तपाईँलाई एउटा रोजगारी मिलोस्, तपाईँलाई अत्मनिर्भर बन्न सहयोग पुगोस् । सिप नहुँदा हामीले अवसर पाइसकेका छैनौँ । सरकारले प्राविधिक विषय अध्ययनका लागि केही सहजता प्रदान गर्नुपर्छ ।
सवालः तपाईँहरु विद्यार्थी हितका लागि भन्दा पनि अलि बढी पार्टी केन्द्रीत गतिविधिमा सहभागी भइरहेको देख्छौँ नी ?
जवाफः हामीले पार्टी मात्रै भनेका छैनौँ । स्वभाविक रुपमा हामी विद्यार्थीको हितको लागि नै सक्रीय छौँ । अनेरास्ववियुलाई मात्रै होइन, नेवि संघ, क्रान्तिकारी, समाजवादी अनेरास्वावियू सबैलाई पार्टीको ट्याग चाँही लाग्छ । अनेरास्वावियु चाँहि जनताको बहुदलीय जनवादलाई नै मार्ग मानेर अघि बढेको छ । मुख्य कुरा जबजले स्पष्ट पारेको छ । हामी विद्यार्थी पनि जबजलाई मानेर, त्यही विचार बोकेर हिड्छौँ । हामी नलुकाइ भन्नुपर्दा नेकपा एमालेको जनसंगठन नै हौँ । त्यसकारणले पार्टिको ट्याग लाग्छ । तर, अहिलेसम्म अनेरास्ववियुले प्रतिपक्षमा रहेर अन्दोलन गरिरहेको छ । हामी पार्टीभित्र पनि प्रतिपक्षमा नै छौँ ।
पार्टी सरकारमा जाओस् या नजाओस् हामीले खबरदारी गरिरहेका छौँ । हामी आफ्नो पार्टी सरकारमा जाँदा जे गरेनी चुप लाग्ने, अरुको आउँदा विरोध गर्ने गर्दैनौँ । हामी गलतलाई गलत भन्छौँ सहीलाई सही । बिद्रोहको लागि बिद्रोह गर्ने, खाली निषेधको लागि निषेध चाँही गर्नुहुँदैन । अनेरास्ववियुमाथिको आम जनताको बुझाई अब परिवर्तन गर्नुपर्छ । भ्रम चिर्दै सत्य बताउन तपाईँहामी सबै लाग्नुपर्छ ।
सवालः सामाजिक संस्थाहरुमा चाँही तपाईँको आवद्धता छैन ?
जवाफः म सेवाका लागि राजनीतिमा होमिएँ । सँगै विभिन्न सामाजिक संस्थामा पनि आवद्ध छु । लायन्स क्लबको डिष्ट्रिक एरिया २ को चिफको जिम्मेवारी पनि सम्हालेँ । मेरो कुरा के हो भने समाजमा बसेपछि समाजको लागि आफुले आफ्नो ठाउँबाट सेवा गर्नुपर्छ । आपसी भाइचाराको सम्बन्ध स्थापित गर्न भूमिका निर्वाह गर्नुपर्छ । रेडक्रस र अन्य क्लबहरुमा पनि जोडिएको छु । आफ्नो क्षमताले भ्याएसम्म जुनसुकै माध्ययमबाट सामाजिक हितका लागि काम गर्नुपर्छ भन्ने लाग्छ ।
सवालः आगामी योजनाहरु केके छन् ?
जवाफः विद्यार्थी राजनितिमा छौँ । राजनीतिक शिद्धान्तबाटै हामी प्रेरित भएका हुन्छौँ । त्यसकारण म विद्यार्थी जगतको हितका लागि पहल गर्न पार्टीमा पनि सक्रिय ढंगबाट आवद्ध छु । अहिले म पार्टिँको जिल्ला सदस्य छु ।
अखिलको आसन्न महाधिवेशनमा म सचिवको उम्मेदवार बन्दैछु । जीत हार आफ्नो ठाउँमा छ, तर म जहाँ रहे पनि जसरी रहेपनि सेवा नै प्रमुख विषय हो । म सेवामा लागिपर्नेछु ।
आगामी दिनमा विद्यार्थी सेवा र समाज सेवालाई अझै प्राथमिकता दिनेछु । निकट भविष्यमा पार्टीले मलाई कुनै पदमा आवश्यक ठान्यो भने पछि हट्ने छैन ।
सवालः अन्तरवार्ताको अन्त्यमा के भन्न चाहानुहुन्छ ?
जवाफः सबै मिलेर विद्यार्थी हितका लागि काम गरौँ । विद्यार्थीको साझा एजेण्डामा लडाईँ झगडा त्यागेर एउटै कित्तामा उभिउँ । मुलुकले स्थिरता चाहेको छ, राजनीतिक अस्थिरता नमित्याउँ । मुलुकलाई समृद्ध सुशासनयुक्त बनाउन हातेमालो गरौँ । सिप सिकौँ, अवसरको खोजी गरौँ । नेपालमै केही गनै एकआपसमा सहयोग समन्वय गरौँ ।
हाम्रो क्षमताले भ्याएसम्म समाजको लागि आफ्नो तर्फबाट केही गरौँ । विशेषगरी निर्वाचनका बेला हामी कुनै दबाव, प्रभाव, लोभ लालचमा नपरी सही नेतृत्व चुनौँ । चुनावमा विवेक प्रयोग गर्यौँ भने हामी पछुताउनु पर्दैन भन्न चाहान्छु । तु खबरले मेरो धारणाहरु राख्ने अवसर दिएकोमा धन्यवाद दिन चाहान्छु ।