क्यानाडामा विश्व पानी सम्मेलन र प्रदर्शनी सुरु
क्यानाडा । क्यानाडाको टोरन्टोमा आजदेखि विश्व पानी सम्मेलन र प्रदर्शनी सुरु भएको छ । क्यानाडाको मेट्रो टोरन्टो कन्भेन्सन सेन्टरमा सुरु भएको सो सम्मेलन १५ अगस्टसम्म जारी रहने छ ।
विश्व पानी संघको आयोजना र अन्य साझेदारहरुको सहयोगमा सुरु भएको सम्मेलन पानीको संचिती र त्यसको संरक्षणमा सरोकारवालाहरुबीच छलफल हुनेछ । कार्यक्रममा पानीसँग सम्बन्धित सरोकारवाला र समूह, विशेषज्ञ र वैज्ञानिकहरु सहभागी छन् । कार्यक्रम पानीका चुनौती र यसका समाधानबारे विमर्श हुँदैछ ।
विश्व पानी संघका कार्यकारी निर्देशक कला भैरवामूर्तीलेले सम्मेलनको उद्घाटन सत्रमा मन्तव्य राख्दै पानीको भविश्यलाई आकार दिने कुरा निकै चुनौतीपूर्ण भएको बताए । यसमा शसक्तिकरण र चुनौती दुबै रहेको उल्लेख गर्दै उनले भावी पुस्ताका लागि दिगो प्रभावको अवसरको रुपमा यो सम्मेलन रहने बताए ।
उनले आशावादी हुँदै सम्मेलनले मानिसहरूलाई पानी व्यवस्थापन गर्न प्रोत्साहित गर्ने र प्रविधिको सम्भावनालाई मानव आवश्यकताहरूसँग मिलाउने कुराकानीलाई सहज बनाउने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा टोरन्टोका मेयर ओलिभिया चाउले सहरका लागि पानीको महत्वमा जोड दिएका छन् । उद्घाटनमा विश्व पानी संघका अध्यक्ष टम मोलेन्कोप एओ, सम्मेलनका अध्यक्ष पिटर भानरोलेघम लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा १ सयभन्दा बढी सेसन र ६० वटा वर्कसप आयोजना हुने छ । वर्तमान र भविश्यमा पानीको व्यवस्थापन कसरी गर्ने, पानी समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा बृहत् छलफल हुने छ ।