हेटौंडामा २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

तु खबर संवाददाता
२०८१ श्रावण २८,सोमबार १७:५८

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । हरेक वर्ष अगष्ट १२ मा मनाउने उक्त दिवस आज हेटौंडामा पनि मनाइएको हो ।

‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका साथ हेटौंडामा पनि युवा दिवस मनाइएको हो । कार्यक्रम बागमती प्रदेश युवा परिषद् हेटौंडाको आयोजनामा भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री महर्जनले युवाका लागि प्रदेश सरकारले रोजगारीको प्रयास गरिरहेको बताए ।

राज्यको हरेक क्षेत्रमा युवाहरुको महत्वपूर्ण भूमिका भएपनि त्यसलाई नेतृत्व वर्गहरुले बुझ्न नसकेको उनले उल्लेख गरे । उनले प्रदेशमा सबै भन्दा कम बजेट युवा तथा खेलकुद मन्त्रालयमा रहेकाले काम गर्न समस्या भएको बताउँदै युवा परिषद्लाई सशक्त बनाउन लाग्नुपर्नेमा जोड दिए ।

यस्तै, कार्यक्रमका सभाध्यक्ष एवम् प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले युवाका निम्ती युवा परिषद्ले धेरै काम गरेको उल्लेख गरे । उनले युवा क्षेत्रमा धेरै काम भएको भन्दै युवाका लागि तालिम, रोजगारी र सामान समेत उपलब्ध गराएको बताए ।

सो क्रममा हेटौंडा उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत भानु थपलियाले डिजिटिलाइजेशनको बारेमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघकी आरती पाठक, युवा परिषद्का कार्यालय प्रमुख रमेश घिमिरेलगायतको सहभागिता रहेको थियो ।