बागमती विश्वविद्यालयको उपाध्यक्ष पदका लागि आवेदन माग

तु खबर संवाददाता
२०८१ श्रावण २८,सोमबार १८:२१

मकवानपुर । बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।

सोमबार विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालयले एक सूचना जारी गर्दै उपाध्यक्ष पदका लागि आवेदन माग गरेको हो ।

संरक्षक समितिले जारी गरेको सूचनामा विश्वविद्यालय हेटौंडाको उपाध्यक्ष नियुक्तीका लागि १५ दिनभित्र अर्थात आगामी भदौं ११ गतेभित्र आवेदन पेस गर्न भनिएको छ ।

उपाध्यक्षको नियुक्तिका लागि योग्यता पुगेका उम्मेदवारहरूले संरक्षक समितिको सचिवालय हेटौंडामा उपस्थित हुन नसकेमा अवस्थामा इमेलमार्फत् पनि आवश्यक कागजातसहित निवेदन पेस गर्न सकिने जारी सूचनामा उल्लेख छ ।

प्रदेश उच्च शिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९ प्रदेश विश्वविद्यालयको विधान २०८१ र बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिमका कागजातसहित निवेदन पेस गर्नुपर्नेछ ।

आवेदन दिन ५६ वर्ष ननाघेका उम्मेदवारले वैयक्तिक विवरण, विश्वविद्यालयको अवधारणासहितको व्यावसायिक कार्य योजना, नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, न्यूनतम द्वितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेको वा सो भन्दा माथिको शैक्षिक योग्यता भएमा सो बमोजिमका प्रमाण पत्रहरूको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

यस्तै, उम्मेदवारले १० वर्ष विश्वविद्यालय अन्तर्गत शिक्षण अनुभव भएको वा सरकारी क्षेत्रको अनुभव भएको, शैक्षिक प्रशासनिक अनुभव भएको, कुनै कानुनले अयोग्य नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने जारी सूचनामा उल्लेख छ ।