अमेरिकी विदेश उपराज्यमन्त्री आज नेपाल आउँदै
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका उप विदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउँदै छन् ।
भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश उपराज्यमन्त्री रिचार्ड नेपाल आउन लागेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको पहिलो भ्रमण हो ।
उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने कार्यसूची रहेको नेपालस्थित अमेरिकी दूतावास स्रोतले जनाएको छ ।
नेपालको एक दिने भ्रमण सकाएर उनी भोली शनिबार भारत प्रस्थान गर्ने जनाइएको छ ।