सुशीलराज गिरीको ‘आन्दोलन’
मकवानपुर । रामबाण द्वैमासिक व्यङ्ग्यपर्चाको धनुः २, बाणः १, कुलबाणः ७, वैशाख–जेठ २०६१ को पृष्ठ ५ मा प्रकाशित छ, सुशीलराज गिरीको ‘आन्दोलन’ । यस अंकमा आरसी रिजालको जरिवाना लघुकथा, सञ्जय साहको असल संस्कृति लघुकथा, सुमन झापालीको कल्ले जान्नु लघुकथा, गोविन्दराज विनोदीको अन्तर्वार्ता, रामकुमार एलनको घटनाक्रम लघुकथा, शरण बानियाँको गजल, खेमराज मल्लको गजल, नितेश शर्मा गौतमको गजल, पञ्चराम परिचयका साथै राजाराम बर्तौलाको सूत्रकथा, अप्सरा तिम्सिनाको कविता र अश्राव सञ्जेलका कविता प्रकाशित छन् ।
पहेंलो पानामा छापिएको यो पत्रिकालाई जण्डिस लागेको भने होइन । हरेक अंकलाई पृथक रंगको पानामा छापिने गरिएकोले मात्र हो । सयौँ जना वार्षिक ग्राहक भइसकेको र मकवानपुर बाहे्क दर्जनौँ जिल्लामा गज्जबले पुग्ने गरेको यो पत्रिकाका लागि रचनाहरु यसरी आउँथे मानौँ यो पत्रिका नै थिचिन्छ ।
ठेगाना नलेखिएको भएपनि गिरी मकवानपुरे स्रष्टा हुन् । त्यस जमानामा हेटौंडा–४ कर्राका वासिन्दा थिए । पत्रिकामा यही सुशीलराज गिरीले चाँजोपाँजो मिलाउँदा गोविन्दराज विनोदीको अन्तर्वार्ता सञ्जय साह र रामशरण पुडासैनीले लिएको उल्लेख गरिएको छ ।
स्मरणीय छः रामबाण हेटौंडाबाट प्रकाशित हुन्थ्यो । पत्रिकाको सम्पादकमा लेखिएको छः पञ्चराम । पञ्चराम अर्थात् राम अविकास, रामकुमार एलन । राजाराम बर्तौला, रामशरण पुडासैनी र राम विश्वास साह । पत्रिकामा पत्राचारको लागि ठेगाना दिइएको छः पुष्पलाल स्मृति पुस्तकालय हेटौंडा, मकवानपुर । यो ठेगाना चाहिँमार्फत् ठेगाना हो । बिजुली हुलाक अर्थात् इमेल ठेगाना पनि दिइएको छ, तर अहिले यहाँ उल्लेख गर्न सान्दर्भिक ठानिनँ ।
पत्रिकामा विधा उल्लेख नभएपनि, सुशीलराज गिरीको लघुकथा हो – ‘आन्दोलन’ । ‘आन्दोलन’ मा पात्रहरु छन्, परिवेश छ, पात्रहरुले गरेको क्रियाकलापमा गतिशीलता छ, द्वन्द्व छ, सम्वाद छ । सम्भवतः ठाउँको अभावले हुन सक्छ, पूरा लघुकथा एउटै अनुच्छेदमा लेखिएको छ । यद्यपि आयामको दृष्टिकोणले यो आदर्श लघुकथा हो ।
लघुकथाकार गिरीको आफ्नो आन्दोलन होइन । आन्दोलन हो छिमेकी दाजुको । दाजु भद्र छन् । म पात्र पनि यसमा छ सहायक पात्रको रुपमा । आन्तरिक दृष्टि बिन्दुमा लेखिएको छ यो लघुकथा । एक आन्दोलनकारी आन्दोल नगर्नको लागि निस्केको छ । आन्दोलन त गर्छ नै किनभने आन्दोलनमा कुटाइ खाएको बताइएको छ । चिच्याउँदा छिमेकी म पात्रले सुनेर दौडेर गएको छ । सपनामा चिच्याइरहेका रहेछन् भद्र दाजु ।
″सपनामा आन्दोल नगर्दा सपनामै गोदाइखानु परेको तर, चिच्याइ चाँही वास्तविक हुन पुगेको रहेछ । म पात्रले सान्त्वना दिएर सुत्न भनि फर्केको छ । धेरै समय भेटघाट भएको छैन तर, म पात्रले सुनेको छः दाजु पात्र निर्णायक आन्दोलनमा छ रे ।″
ठुल्ठुला कुराको डिक हाँक्ने तर, आन्दोलनको नाममा सपनामा पनि तर्सने व्यक्तिको मनोविज्ञानलाई यसमा चिरफार गरिएको छ । वा, भोको पेटमा आन्दोल नगर्दा खाएको पिटाइले राती पनि तर्साउँदो रहेछ । मानिसको चाँहना र व्यवहार फरक हुँदा उसको व्यवहार सपनामा पनि प्रस्फुटित हुने कुरालाई लघुकथाले प्रष्ट पारेको छ ।
गिरीले उनेको लघुकथा हास्य र व्यंग्य दुवै दृष्टिले राम्रो छ । लघुकथाको वर्तमान संरचना भन्दा परम्परागत प्रकृतिको रहेको यस लघुकथामा मौलिक किसिमका उखान र टुक्काहरु प्रयोग गरिएका छन् । गिरीका अन्य रचनामा पनि यस किसिमको प्रवृत्तिपाइन्थ्यो । ‘आन्दोलन’ लघुकथामा सुशील लेख्छन् –
– च्यात्यालुगा र ढाट्या कुरा लुकेर लुक्दैन, छिपाएर छिप्दैन ।
– एम्बुसमा प परेर बाँच्यापुलिस चुइगम पड्काउँदा पनि तर्सन्छ ।
– छिस्रिक्क भएपनि तर्सने मुसाकुदे पनि झस्कने ।
एउटा लघुकथामा तीन मौलिक उखानको उपयो गर्नु र यस्तै कैयन टुक्काहरु प्रयोग गर्नु सुशीलको विशेषता मानिन्थ्यो । उखान र टुक्काको प्रयोगले लघुकथा कलात्मक बनेको छ नै । साथै हास्यव्यङ्ग्य पत्रिका भएकोले हास्य व्यङ्ग्यपूर्ण बनाउन पनि उखानहरु सहयोग गरेका छन् ।
वास्तवमा लघुकथाकारले प्रचलित उखान टुक्कालाई पुनर्सिर्जन गरेका छन्, हास्य व्यङ्ग्यात्मक बनाएका छन् । साहित्यका मौलिकताको सिर्जनात्मक उपयोग गर्ने सुशीलराज गिरीको यो लघुकथा आफैँमा विशिष्ट छ । कडा र ठाडो व्यङ्ग्य गर्ने सामथ्र्य राखेको छ । भनिन्छ, हास्यव्यङ्ग्य साहित्यमा हास्य र व्यङ्ग्यको सन्तुलन हुनुपर्छ । यस लघुकथामा गिरीले दुवैको सन्तुलन गरेका छन् ।
लघुकथाको आरम्भ र अन्त्य दुवै सामान्य छन् । रैखिक शैलीमा लेखिएको छ । कथ्यशब्दको भरपूर उपयोग गरिएको छ । व्याकरणसम्म त भाषाको पनि प्रयोग छ । आवश्यकतानुसार तत्सम, तद्भव र आगन्तुक शब्दको पनि उपयोग गरिएको छ । यद्यपि आदरार्थी क्रियापदको प्रयोगमा भने सामान्य विचलन पनि देखिएको छ । साहित्यमा हुने व्याकरणिक विचलन स्वाभाविक छ । कथामा नाम भन्दा सर्वनाम तथा साङ्केतिक नामको उपयोग गरिएको छ । कथाका दुवै पात्रको वास्तविक नाम चाँही आएको छैन । केही अस्वाभाविकता र स्वैरकाल्पनिकताको उपयोग पनि कथाकारले गरेका छन् ।
साहित्यको विभिन्न क्षेत्रमा सक्रिय युवाका रुपमा परिचित सुशीलराज गिरीका रचनाहरु पढ्न नपाएको धेरै भइसक्यो । अबको दिनमा गिरीका रचनाहरु अझ पढ्न पाइयोस् भन्ने धोको छ । विश्वास छ, सुशीलजी जहाँ हुनुहुन्छ, सिर्जनात्मक कर्ममा पनि लागिरहनु भएको छ ।