मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

तु खबर संवाददाता
२०८१ भाद्र ४,मंगलवार १०:०३
file-photo

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज मंगलबार विश्वासको मत लिँदैछन् ।

गत साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मतका लागि आज अपराह्न १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विश्वासको मत लिने भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित साना दलले ह्विप जारी गरेका छन् ।

त्यस्तै मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने बताएका छन् । प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद रहेका छन् ।

८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा आवश्यक बहुमतको लागि ४४ सांसदको आवश्यक पर्दछ ।