भोलिदेखि माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक भोलि बुधबारदेखि सुरु हुने भएको छ ।
गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्न लागेको हो ।
जसअनुसार, बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बुधवार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको प्रवक्ता एवम् बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले बताए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् ।
बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने उनको भनाई छ । सो उक्त बिहीबार बैठक सम्पन्न हुनेछ ।
यसैगरी, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते, गण्डकी प्रदेशको बैठक भाद्र ९ र १० गते, सुदूरपश्चिम प्रदेशको बैठक भाद्र १२ र १३ गते, कर्णाली प्रदेशको बैठक भाद्र १४ र १५ गते बस्नेछ ।
यस्तै, लुम्बिनी प्रदेशको केन्द्रीय समिति तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते, तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते, मधेस प्रदेशको बैठक भाद्र २२ र २३ गते, पूर्व, १ नं प्रदेशका केन्द्रीय तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र २४ र २५ गते बस्नेछ ।
परामर्श समितिको बैठक अन्य प्रदेश र मोर्चा कमिटीहरूमा बैठक असोज ३ गतेसम्म संचालन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।