हेटौंडामा गाईजात्रा पर्व मनाईयो

तु खबर संवाददाता
२०८१ भाद्र ४,मंगलवार १६:५७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा गाईजात्रा पर्व मनाइएको छ । विगतका वर्षहरु झैं यस वर्षपनि हेटौंडामा सामूहिक रुपमा गाईजात्रा पर्व भनाइएको हो ।

नेवा सांस्कृतिक पुचः हेटौंडाको आयोजनामा लाखे नाच, नेवारी बाजासहित सामूहिक गाईजात्रा निकालिएको हो ।

हेटौंडाको कृष्ण मन्दिरबाट निकालिएको गाईजात्रा बजारको विभिन्न स्थान परिक्रमा गरी भुटनदेवी मन्दिर परिसरमा पुगेर समापन गरिएको नेवा सांस्कृतिक पुचः मकवानपुरका अध्यक्ष सुनकुमार मानन्धरले जानकारी दिए ।

यस वर्ष ४२ परिवार सामुहिक गाईजात्रामा सहभागी भएको उनले बताए । यस वर्ष विगतका वर्षहरुको तुलनामा गाईजात्रा निकाल्ने परिवार कम भएको उनको भनाई छ ।

उनका अनुसार, हेटौंडामा २०६४ सालदेखि सामुहिक गाईजात्रा निकाल्दै आएको छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने प्रचलन छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने विश्वास छ ।

सो अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ । गत साउन ३२ गते शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय अनुसार आज सार्वजनिक विदा दिएको सरकार प्रवक्ता एक आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

आज प्रदेशका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, वित्तिय संघसंस्थालगायत सरकारी कार्यालयहरु बन्द रहेको छ ।