निरस तर इतिहास बिर्सँदैन भीमफेदी

तु खबर संवाददाता
२०८१ भाद्र ५,बुधबार १०:४२

हेटौंडा । मकवानपुरमा उल्लेख्य रुपमा पर्यटनस्थल देख्न सकिन्छ । मकवानपुरमा पनि पर्यटकहरु टाढा–टाढाबाट घुम्न आउने गरेको पाइन्छ । यात्रा गर्दा कतिपय प्राकृतिक वातावरणीय सौन्दर्यले मन लोभ्याउँछ । वातावरणीय दृष्टिले मानिसलाई ऊर्जाशील बनाउँछ ।

कतिपय पर्यटक विभिन्न ठाउँ घुम्दै जाँदा स्वर्गै पुगेको अनुभूति गर्छन् । हेटौंडा हुँदै छोटो दुरीको हेटौंडा–काठमाडौं जोड्ने (पुरानो सदरमुकाम) मकवानपुरको भीमफेदीमा पर्ने केही स्थान पर्यटक कुरेर बसिरहेका छन् । ती सम्पदाहरु, जुन धरासयी अवस्थामा छन् ।

भीमसेन मन्दिर, जसको नामबाट हालको आधुनिक भीमफेदीको नामाकरण भएको हो । त्यहाँका स्थानीयबासी भीमसेनमा धेरै आस्था राख्छन् । भीमसेन मन्दिरको हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन पूजापाठ गर्नुका साथै ठूलो जात्रा लाग्ने गर्दछ । स्थानीय महिमा श्रेष्ठका अनुसार भीमसेनको पूजाराधना गर्नाले व्यापार–व्यवसाय समृद्धिका लागि पुजिने भीमसेन भीमा एकादशी अर्थात् एक दिन अगाडि व्रत बस्ने मान्यता रहेको बताइन् ।

‘भीमा एकादशीका दिन भीमसेन मन्दिरमा विशेष पूजा गरिँदैन । यसको भोलिपल्ट अर्थात् भीमाद्वादशीको दिन घर, मन्दिर तथा पसलहरुमा भव्यरुपमा पूजा गरी घरमा प्रसाद खाने गरिन्छ,’ श्रेष्ठले भनिन् । यस दिनमा भीमसेनको पूजा गरे व्यापार–व्यवसाय बृद्धि हुने, घरमा सुखशान्ति हुने, रोगमुक्त हुने तथा घरमा शुभ हुने विश्वास लिइन्छ ।

पुरानो रोपवे, श्री ३ चन्द्रशम्सेरले तत्कालीन धोर्सिङदेखि काठमाडौंको मातातीर्थसम्म तत्कालीन प्रविधिको रोपवे स्थापना गरेका थिए । त्यस बेला यसको लम्बाई २२ किमीमात्र थियो । पछि यसलाई विस्तार गरेर ४२ किमी बनाइएको थियो । तत्कालीन समयमा काठमाडौंको भोकमरी टारेका रोपवेले दिनमा २ सय ५० टन सामान ओसार्न सक्थ्यो । तर, हाल बन्द रोपवेलाई विश्वविद्यालयहरुमा खोज–अनुसन्धान गर्ने विद्यार्थीहरुको अनुसन्धान र पर्यटन प्रवद्र्धनमा जोड्न सकिन्छ ।

मकवानपुरको भीमफेदी बजार भूगर्भविद् टोनी हेगन नेपाल आउँदा हालको भीमफेदी बजारसम्म गाडीमा आएको र त्यसपछि यहाँका होचा कदका बलिया मानिसहरुले गाडीको चारै पांग्रा फुकालेर नोल बाँधेर यसै स्थानबाट गाडी बोकेर काठमाडौं लगेको भनेर उनले आफ्नो डायरी तथा किताबहरुमा लेखेका थिए । त्यसर्थ, यस ग्रामीण शहर ऐतिहासिक भएको पाइन्छ ।

भीमफेदीमा कालीतोप पनि छ । नेपाललाई स्वतन्त्र राख्नका लागि महत्वपूर्ण भूमिका खेलेका दुई महत्वपूर्ण तोप काली र लालीतोप हुन् । लालीतोप ज्ञानेन्द्र शाह राजा हुँदाको बखत दरबार लगिएको भए पनि कालीतोपसहित १८ वटा तोप भीमफेदीस्थित चिसापानी गढी किल्लामै छन् ।

ड्राइपोर्ट पनि थियो भीमफेदीमा । नेपालमा सर्वप्रथम बनेको अमलेखगञ्ज–हेटौंडा–धोर्सिङ सडकखण्डको हालको पांग्रेटारस्थित ठाउँमा ड्राइपोर्ट थियो । करिब २० वटा जति यस्ता गोदामघर र ठूलो चौर रहेको स्थानमा सामान राखिन्थ्यो र त्यहींबाट रोपवे प्रयोग गरेर टेकु भन्सार लगिन्थ्यो । विभिन्न वर्षका बाढीले बजार बगाएपछि हाल एउटा गोदामघर हरिबिजोग अवस्थामा प्रयोगविहीन अवस्थामा छ ।

आकर्षक र कलात्मक ‘हाकिम घर’ पनि छ । उक्त स्थान रोपवेका हाकिमको कार्यालय थियो । त्रिभुवन राजा हुँदाको बखत तराई–मधेश आवतजावत गर्दा भीमफेदीस्थित सोही घरमा बस्दथे । राणाकालमा भीमफेदीको बाटो हुँदै संघीय राजधानी प्रवेशका लागि चिसापानी प्रमुख प्रवेशद्वार थियो । त्यहाँ गढी, गोश्वारा, हुलाक, अतिथिगृहजस्ता महत्वपूर्ण सरकारी निकायको उपस्थिति थियो । काठमाडौं प्रवेश गर्न त्यहाँस्थित गोश्वारा अड्डाबाट राहदानी लिनु अनिवार्य थियो । राणा शासकहरुले प्रयोग गर्ने आयातित मोटर पनि भरियाहरुले त्यही बाटो बोकेर थानकोटसम्म लैजान्थे । हाल ती सबै दन्त्यकथाजस्तो लाग्छ ।

काठमाडौंबाट भीमफेदी आएपछि मोटर समथर बाटोबाट दौड्न थाल्छन् । सबै वस्तुको आआफ्नो समय हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण भीमफेदीलाई लिन सकिन्छ । इतिहासको कुनै खालखण्डमा असाध्यै गुलजार भीमफेदी बजार हाल बुढ्यौलीले झोक्राएर बसेको देखिन्छ । न रुप रंग, न कुनै जोसजाँगर, आफ्नै इतिहासले गिज्याएर बसेको छ– भग्नावशेष जस्तो लाग्ने सुनसान भीमफेदी बजार ।

पछि राजपरिवारबाट बालमन्दिर स्थापना गरी बालमन्दिरले प्रयोग गरेको घरको छेवैमा अर्को ठूलो ऐतिहासिक घर थियो । जुन २०७२ को भुकम्पले पूर्णरुपमा क्षति भयो । लटरम्भेश्वर महादेव पनि एक मुख्य स्थल हो । पछिल्लो समयमा अत्यधिक पर्यटक आकर्षित भएको मन्दिरले हालसम्म मन्दिरको रुप भने लिइसकेको छैन । भीमफेदीको महादेवटारस्थित डब्लुडाँडाको टुप्पोमा रहेको महादेव मन्दिरमा पर्यटकको घुईंचो हुन्छ ।

लटरम्भेश्वर महादेव मकवानपुरको बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सिमनामा पर्ने एक धार्मिक–पर्यटकीयस्थल हो । बकैया–१२ को ठिंगन र भीमफेदी–८ को इपानजिकबाट करिब ३ घण्टा पैदलमार्फते उक्त लटरम्भेश्वरपरिसर पुग्न सकिन्छ । करिब २ हजार मिटर अग्लो डब्लुडाँडामा रहेको लटरम्भेश्वर हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र हो ।

हिन्दुधर्मको पौराणिक कथाअनुसार महादेवकी पत्नी सतिदेवीले देहत्याग गरेपछि महादेवले उनको शरीर लिएर हिँड्ने क्रममा उनको जटा (टाउकोको कपाल) पतन भएको स्थानका रुपमा उक्त क्षेत्रलाई लिइन्छ । सतिदेवीको जटा झरेर पतन भएको पौराणिक कथाअनुसार उक्त स्थानको नाम लटरम्भेश्वर महादेव भएको बताइन्छ ।

वागमती प्रदेशको राजधानी हेटौंडाबाट कान्तिलोकपथ मार्ग हुँदै ४० किलोमिटर उत्तर क्षेत्रको यात्रापछि बकैया गाउँपालिकाको ठिंगन भन्ने स्थान पुगिन्छ । ठिंगन पुग्नुभन्दा ५ सय मिटरअगाडि खोरभञ्ज्याङबाट कच्ची बाटो हँुदै रातोमाटे भन्ने ठाउँसम्म दुईपांग्रे साधनमा पुग्न सकिन्छ ।

रातोमाटेबाट करिब ३ घण्टाको जंगल पैदलयात्रापश्चात् लटरम्भेश्वर मन्दिर भएको स्थलमा पुगिन्छ । महाभारत क्षेत्रकोे उक्त स्थानको मौसम छिनछिनमै परिवर्तन चिसो भइराख्छ । लटरम्भेश्वरमा करिब एक सय–एक सय मिटरको सिमेन्टको सिंढीसमेत बनाइएको छ । लटरम्भेश्वर डाँडामा गुफाभित्र मन्दिरसमेत छ । गुफाबाहिर ठूलो घण्टी र भित्र मन्दिर, केही मिटरमाथि ठूलो त्रिशुल र पूजाआजा गर्ने स्थल छ ।

कृष्ण मन्दिर भैंसे बजारमा छ । उक्त मन्दिर ऐतिहासिक वास्तुकला र कलासँकृतिको संयोजन हो । आकर्षक डिजाइन दिइएको मन्दिर राणाकालीन समयमा बनेको देखिन्छ । यहाँ ठूलो जात्रा लाग्ने गर्दछ ।

त्रिखण्डेश्वर महादेव मन्दिर पुरानो मन्दिर हो । चर्चित भारतीय पाइलट बाबाले यही ठाउँमा ध्यान गरेका भनिन्छ । उक्त ठाउँ विशेषतः मानिसहरु ध्यानका लागि आउँछन् । हाल यसको आडमा टौबास क्षेत्रमा दैनिक ३–४ हजार पर्यटक बिदाको दिन बनभोजका लागि आउँछन् । हरिबोधनी एकादशीमा मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा मेला लाग्दै आएको छ ।

भारतीय मिडिया एबीपी न्युजका अनुसार जुना अखडाका महामण्डलेश्वर पाइलट बाबाको मंगलबार दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उनलाई हरिद्वारमा समाधि लगाइने बताइएको छ । उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्न्यास लिएका थिए ।

त्रिभुवन राजपथ निर्माण हुनुभन्दा अघि उपत्यकाको एकमात्र प्रवेशद्वार भीमफेदीको चहलपहल थामिनसक्नु थियो । तराईमा शिकार खेल्न जाने होस् वा तराईबाट राजधानी आउजाउ गर्ने पैदल यात्रुको बासस्थान थियो, भीमफेदी । मकवानपुरको वर्तमान सदरमुकाम हेटौंडाबाट करि २७ किलोमिटर उत्तर रहेको भीमफेदी मध्यकालीन नेपालको इतिहासमा निकै नै चर्चित थियो ।

२०३९ मा तत्कालीन जिल्ला सभापति ओमुटेम्पा लामाले मकवानपुरको सदरमुकाम भीमफेदीबाट सारेर हेटौंडामा ल्याएपछि भने चहलपहलयुक्त भीमफेदी एकाएक उजाड बन्दै गयो । त्यहाँका अधिकांश कार्यालय हेटौंडा सरेपछि व्यापार–व्यवसायसमेत हेटौंडातिर सर्न पुग्यो ।

राणाकालमा बेलायती राजारानीलगायत विदेशी पाहुना हात्तीमा बसेर शिकार खेल्नका निम्ति पनि भीमफेदी नै आउँथे । विगतमा पैदल यात्रुका निम्ति बास बस्न बनाइएका पाटीपौवा र निजी भवन हाल जीर्ण अवस्थामा छन् । हात्तीसारस्थित हौदा संग्रहालयमा रहेका हौदालगायत विभिन्न ऐतिहासिक सामग्री संरक्षणको पर्खाइमा छन् । संग्रहालयमा सन् १९५२ मा बेलायती महारानी एलिजाबेथ र जंगबहादुर राणालगायत राणा परिवारले प्रयोग गरेका हौदा छन् ।

ऐतिहासिक चिसापानी गढी, राजामहाराजा एवम् राणाले निर्माण गरेका भौतिक संरचना, १९६४ मा निर्मित अनौठो र आकर्षक पृथ्वी–चन्द्र अस्पताल भवन, राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्माण गराएको विशाल धर्मशाला (हाल भत्काइएको र महेन्द्र माविको आधुनिक भवन बनाइएको), पौराणिक कालीगढी नमूना झल्कने भीमसेन महाराजको मूर्ति भएको भीमसेन मन्दिर, ढुंगेधारासहित आकर्षक पोखरी र मनोरम बगैंचाजस्ता थुप्रै ऐतिहासिक संरचनाले झकिझकाउ भीमफेदी, सदरमुकाम सरेपछि निरस र उजाड बनेको छ ।

चहलपहल कम भएपछि धेरै स्थानीयसमेत काठमाडौं र हेटौंडातिर बसाईंं सरे । भीमफेदीको चिसापानीगढी देशकै सबभन्दा चल्तीको नाका थियो । हाल ललितपुरको भुसेल, माल्टा, आस्राङ, साहुमारादेखि धादिङ र काभ्रेको केही भागसमेत र पूरै चितवन र मकवानपुर जिल्ला मिलेर बनेको चिसापानीगढी जिल्लाको केन्द्र यही गढी भएको इतिहास पाइन्छ । २०१३ तिर त्रिभुवन राजपथ सञ्चालन हुनुअघिसम्म दक्षिणी भेगलाई काठमाडौंसँग जोड्ने एकमात्र नाकाका रुपमा थियो भीमफेदी । नेपाल–अंग्रेज युद्धताका मजबुत किल्ला भएका कारण चिसापानीमा हार खाएको अंग्रेज फौजले काठमाडौं प्रवेश गर्न सीमभञ्ज्याङतर्फको बाटो राज्नुपरेको इतिहासका खोजकर्ता केदार न्यौपाने बताउँछन् ।

भीमफेदी गाउँपालिका २४५.२७ वर्ग किमी क्षेत्रफलमा फैलिएर मकवानपुर जिल्लाको मध्यभागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र साबिकको भीमफेदीमा छ । यस तह मकवानपुर जिल्लाका ५ वटा साबिक गाविस र १ गाविसका ३ वटा वडाहरुलाई मिलाएर बनाइएको हो । यस गाउँपालिकाअन्तर्गत् साबिक गाविसहरुमा भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, इपापञ्चकन्या, नामटार (१ ,३ , ४) छन् । तामाङ, मगर, क्षेत्रीको उच्चतम् बसोबास यस क्षेत्रमा पाउन सकिन्छ । पालिकामा ९ वटा वडा छन् ।

गाउँपालिकाको सिमानामा पूर्वतर्फ ललितपुर जिल्ला, पश्चिमतर्फ कैलाश गाउँपालिका र हेटांैडा उपमहानगरपालिका, उत्तरतर्फ थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका र दक्षिणतर्फ हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी र बकैया गाउँपालिका छन् । जनगणना, २०७८ अनुसार पालिकाको जनसंख्या २१ हजार ५ सय १६, जम्मा घरधुरी ५ हजार ८५ छ र साक्षरता प्रतिशत् ७५.३ छ । यसमध्ये महिला साक्षरता प्रतिशत् ६७.६ रहेको देखिन्छ । यो समाचार आजको हेटौंडा सन्देश राष्ट्रिय दैनिकमा छापिएको छ ।