तरुण दलले हेटौंडा अस्पताललाई ज्ञापनपत्र बुझायो

तु खबर संवाददाता
२०८१ भाद्र ५,बुधबार १८:३८

मकवानपुर । हेटौंडा अस्पतालको कर्मचारीको पदपुर्तीका लागि लिइएको परीक्षामा सफल भएकाहरुलाई नियुक्ती दिन नेपाल तरुण दल हेटौंडा उपमहानगर कार्य समितिले ज्ञापनपत्र बुझाएको छ ।

परीक्षा र अन्तवार्ता दुबैमा सफल भइसकेकाहरुलाई नियुक्ती दिन आनाकानी गरिएको भन्दै तरुण दल हेटौंडाले मेडिकल सुपरीटेण्डेण्ट डा.रामचन्द्र सापकोटालाई ज्ञापनपत्र बुझाएको हो ।

अस्पतालको करारमा कार्यरत कर्मचारीको म्याद सकिएपछि पुनः करारमा भर्ना गर्ने गरी साउन १ गते १५ दिनको सूचना सार्वजनिक भएको थियो । साउन ३१ गते अन्तरवार्ता गरी परीक्षाफल समेत प्रकाशन गरिएको थियो ।

परीक्षामा सफल भएकाहरुलाई नियुक्ती दिन ढिलाई गरेको चासो व्यक्त गर्दै तरुण दल नगर कार्यसमिति अध्यक्ष सुनिल गिरीको नेतृत्वमा तरुणको टोली अस्पताल पुगेर ज्ञापनपत्र बुझाएको हो ।

सो क्रममा तरुण दल जिल्ला अध्यक्ष सन्तोष सापकोटा, केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल गोपी लगायतले हेटौंडा अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हस्तक्षेप रहन नहुने धारणा व्यक्त गरे ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा तरुण नेताहरु सञ्जय श्रेष्ठ, भुपेन्द्र अधिकारी, सुशील सिग्देल लगायतको उपस्थिति रहेको थियो ।