हात्तिलेटस्थित निलकण्ठेश्वर मन्दिरमा श्रीकृष्ण लिला तथा झुला कार्यक्रम सुरु

तु खबर संवाददाता
२०८१ भाद्र ७,शुक्रबार १६:५६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–६, हात्तिलेटस्थित निलकण्ठेश्वर महादेव मन्दिरमा शुक्रबारबाट श्रीकृष्ण लिला प्रवचन एवम् झुला कार्यक्रम सुरु भएको छ ।

निलकण्ठेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष भोलानाथ दुलालको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रमको पानसमा बत्ती बालेर उद्घाटन गर्दै नेता बानियाँले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णको लिला उत्कृष्ट रहेको बताए ।

भगवान श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको उनले उल्लेख गरे ।

आ–आफ्नो आस्थाको प्रतिक र धर्म संस्कृतिको रक्षा गर्नु हामी सबै नेपालीको दायित्व रहेको बताउँदै नेता बानियाँले नेपाल भूमिमा श्रीकृष्ण लिला प्रवचन र झुलाको धार्मिक र सांस्कृतिक परम्पराको एक उत्कृष्ट नमूना रहेको बताए ।

त्यसैगरी, विशिष्ट अतिथि बागमती प्रदेश सरकारका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ रहेको बताउँदै हिन्दु धर्म र संस्कृतिको सम्बद्र्धन र प्रवद्र्धनमा आफू सदैव लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा हेटौंडा–६ का कार्यबाहक वडाध्यक्ष विजय पौडेल, पूर्व वडाध्यक्ष अर्जुनप्रसाद चौलागाई, विकास समितिका सदस्य सरदकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम आजबाट भदौ १० गते श्रीकृष्ण अष्टमीसम्म चार दिन संचालन हुनेछ । श्रीकृष्ण लिला प्रवचन र झुलाको पण्डित बासुदेव आचार्यले प्रवचन दिने कार्यक्रम रहेको छ ।