हेटौंडाबाट काठमाडौं जोड्ने विभिन्न बाटो अवरुद्ध

तु खबर संवाददाता
२०८१ भाद्र १०,सोमबार १७:११
file photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने विभिन्न बाटो पहिरोका कारण अवरुद्ध भएको छ ।

आज दिउँसो परेको अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो खसी बाटो अवरुद्ध भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भीमफेदी गाउँपालिका वडा नम्वर ८, महादेवटारस्थित वर्षासँगै खसेको पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ । दिउँसो सवा ३ बजेको समयमा लेदोसहित पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय ठिंगनबाट टोली खटी गई सडक विभाग तथा फाष्ट ट्याकसँग समन्वय गरी पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यस्तै, जिल्लाको इन्द्रसरोबर गाउँपालिका–३, रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी–कुलेखानी–फर्फिङ हुँदै काठमाडौं जोड्ने सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

दिउँसो पौने ४ बजेको समयमा  वर्षाको कारण लेदोसहितको पहिरो खसी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरी चौकी सिस्नेरीबाट टोली खटिगई सडक डिभिजनसँग समन्वय गरी बाटोको पन्छाउने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।