‘जनताको समस्या समाधान गर्न पहल गरिरहेका छौँ’
सवालः तपाईँको नेतृत्वमा वडाको विकासका लागि के–कस्ता काम भइरहेका छन् ?
जवाफः धन्यवाद । मनहरी गाउँपालिका २ नम्वर वडाको अध्यक्ष निर्वाचित भएपछि विशेषगरी यहाँका जनताको समस्यालाई पहिचान गरेर समाधान गर्ने प्रयास गरिरहेको छु ।
शिक्षा, स्वास्थ्य तथा यातायातका लागि सडक पूर्वाधार, खानेपानी, कृषि तथा पशुपालन, रोजगारी, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र, कला, साहित्य, भाषालगायत समग्र क्षेत्रको विकासका लागि वडाबाट काम भइरहेको छ ।
जनताको सुखदुखमा हामी सहभागी भइरहेका छौँ । वडाबाट प्रवाह हुने सेवा सुविधामा जनताको पहुँच विस्तार गरिरहेका छौँ ।
सवालः निर्वाचनका बेला गर्नुभएको प्रतिवद्धता के–कति पूरा भए त ?
जवाफः निर्वाचनको बेला जे जति प्रतिवद्धता गरेको थिएँ । ती सबैलाई क्रमैसँग पूरा गर्ने प्रयास गरिरहेको छु । केही पूरा भइसकेका छन् । अझै धेरै गर्न बाँकी छ ।
मैले माथि भनिसकेको छु । जनताको समस्या पहिचान गरेर समाधान गरिरहेका छौँ । विकास निर्माणका काम भइरहेका छन् । विशेषगरी सडक पूर्वाधार निर्माणको काम र खानेपानी विस्तारको काम उल्लेख्य रुपमा भएको छ । दुई ठाउँमा अहिले पनि खानेपानीको काम भइरहेको छ । चाँडै दुई ठाउँमा सुरु गर्दैछौँ । स्वास्थ्यको क्षेत्रमा भवन संरचना निर्माण, उपकरण खरिद, औषधिको उपलब्धतालाई ध्यान दिएका छौँ । स्वास्थ्य बीमातर्फ नागरिकहरुलाई आवद्ध गराइरहेका छौँ । अध्ययनमा विद्यार्थीको रुची बढाउन विभिन्न कार्यक्रम संचालन गरेका छौँ । सामूदायिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेका छौँ ।
खरको छानो मुक्त बनाउने अभियानलाई जोड दिएका छौँ । कला, भाषा, साहित्य, धर्म संस्कृतिको जगेर्ना गर्नको लागि मठ, मन्दिर, गुम्बा, चर्च आदि निर्माण गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने लगायतका कामहरु भइरहेका छन् ।
बुद्ध चोक स्थापना गर्ने, भीमान सहिद गेट निर्माण गर्ने लगायतका कामहरु पनि भइरहेका छन् । पर्यटकीय क्षेत्रहरुको पहिचान गरी त्यसको प्रचारप्रसार समेत गरिरहेका छौँ ।
सवालः २ नम्वर वडा निकुञ्ज क्षेत्रसँग जोडिएको छ । निकुञ्जमा संरक्षित वन्यजन्तुहरु आएर जनताहरुलाई दुख दिएको समाचार सुनिरहेका छौं । त्यसको समाधानको लागि वडाले कसरी पहल गरिरहेको छ ?
जवाफः तपाईँले महत्वपूर्ण प्रश्न सोध्नुभयो । हामी मध्यवर्ती क्षेत्रमा भएकाले हाम्रो मुख्य समस्या भनेकै यही हो । वडाबाट विभिन्न काम कारबाही गर्न वा विकास निर्माणको काम गर्न मध्यवर्ती व्यवस्थापन र राष्ट्रिय निकुञ्जको कार्यालयमा अनुमति लिनुपर्ने हुँदा वडाबाट सम्पादन हुने काम प्रभावित भइरहेको छ । वन्यजन्तु आएर जनताको बालीनालीसँगै जनधनमा क्षति पुर्याइरहेको छ । हामीले पालिकालाई भनेर सम्बन्धित निकायका व्यक्तिहरुलाई भेटेर मानव वस्तिमा बन्यजन्तु र मावनबीचको संर्घषलाई अन्त्य गर्न प्रयास गरिरहेका छौँ । जन्तुहरु आएर मानव वस्तिमा पस्ने, बाघ आएर बाख्रा खाइदिने, बाँदरले मकै खाइदिने लगायतका समस्या हामीले झेल्दै आएका छौँ ।
समस्याकै बीचमा हामी काम गरिरहेका छौँ । सम्बन्धित निकायले यस विषयमा चासो दिन आवश्यक छ । समस्या समाधानको लागि गाउँपालिकाले केन्द्र सरकारसँग नै अनुरोध गर्नुपर्छ भन्ने लाग्छ ।
सवालः मध्यवर्ती क्षेत्रको सन्दर्भमा तीन तहका सरकारबीच नै कानून बाझिएको देखिन्छ नी ?
जवाफः मध्यवर्ती क्षेत्रको कानूनले स्थानीय सरकार र प्रदेश सरकारको कानून नमान्ने अवस्था छ । जसले गर्दा स्थानीय सरकारको अधिकार प्रयोग गर्नुपूर्व मध्यवर्तीसँग अनुमति लिनुपर्ने बाध्यता छ । स्थानीय विकासका लागि उहाँहरुसँग अनुमति लिनुपर्ने अवस्था छ । यो समस्या हामीले मात्रै प्रयास गरेर हल हुँदैन । यसका लागि माथि विभागदेखि नै पहल गर्नुपर्ने देखिन्छ । अघिल्लो वर्ष पालिकाको अध्यक्षज्यू, उपाध्यक्षज्यूलगायत हाम्रो टोलीले यस क्षेत्रको समस्याको समाधानका लागि तत्कालिन प्रधानमन्त्रीज्यूसँग भेटघाट गरेका थियौं । यस क्षेत्रमा जग्गा नापीलगायतको विषयमा मध्यवर्ती क्षेत्र बाधक भएको कारणले गर्दा हामीले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र पनि बुझाएर आयौं । पछिल्लो समयमा मध्यवर्ती क्षेत्रको नियमहरु संशोधन हुने भन्ने कुराहरु आइरहेको छ । त्यो व्यवहारिक रुपमा आएको छैन । त्यो व्यहारिक रुपमा आइसकेपछि त्यसको गतिविधिहरु हामीले देख्न पाउँछौँ । अहिलेको अवस्थामा हामी जनप्रतिनिधी मध्यवर्ती क्षेत्रको अधिनमा रहेर विकास निर्माणको काम गर्न बाध्य छौँ । समाधान खोजिनुपर्छ हाम्रो तर्फबाट सम्बन्धित निकायलाई झकझकाउने कार्य भइरहेकै छ ।
सवालः जनप्रतिनिधिको दृष्टिकोणमा तपाईँले जनताको अपेक्षा र आवश्यकता के–के देख्नुभयो त ?
जवाफः विशेषगरी जनताको आधारभूत आवश्यकतालाई पूरा गर्नुपर्ने रहेछ भन्ने लागेको छ । जनतालाई उत्पादनमूलक कार्यक्रममा जोड्न आवश्यक छ । युवाहरु विदेश पलायन भइरहेका छन् । उनीहरुलाई रोजगारीमा जोड्न सके उक्त समस्या समाधानको लागि केही राहत मिल्थ्यो ।
आधुनिक एवम् व्यवसायिक कृषि खेतिमा कृषकहरुलाई जोड्नुपर्ने छ । जनतामा आफु कसरी बाँच्ने, परिवार कसरी बचाउँने भन्ने चिन्ता छ । सर्वप्रथम त त्यसलाई नै सम्बोधन गर्न सबैले मिलेर पहल गर्नुपर्छ ।
सवालः मुलुकमा राजनीतिक अस्थिरता हुँदा जनता निराश भएका छन् । तपाईँको बुझाईमा जनतालाई पुनः आशा जगाउन के गर्नुपर्छ ?
जवाफः संसदीय अभ्यासमा बहुमत र अल्पमतको खेल हुने हो । जसले बहुमत पाउँछ उसैले सरकारको नेतृत्व गर्छ । सरकार बन्ने वा ढल्ने भन्ने कुरा प्रक्रियागत ढंगबाट नै हुन्छ । केन्द्रको समिकरण फेरबदल हुँदा स्थानीय तहमा पनि काम गर्न समस्या पक्कै हुन्छ । समग्रमा हाम्रो वडामा भने समस्या देखिएको छैन । तल्लो तहका सरकारले आपसी सद्भाव बढाएर जनताको हितमा काम गर्नुपर्छ भन्ने लाग्छ । वडाको विभिन्न कार्यक्रममा यहाँका संघसंस्था, विभिन्न दलका प्रतिनिधिहरुलगायतलाई छलफल गरेर हामी अगाडि बढिरहेका छौँ । त्यसैले पनि यहाँ सहज भएको होला । मनहरी २ को विकासको लागि सबै राजनीतिक दलले साथ समर्थन गरिरहनुभएको छ । र उहाँहरुको सल्लाह अनुसार नै हामीले पनि काम गरिरहेका छौँ ।
सवालः राजनीतिक आवद्धता चाँही यहाँको कहिलेबाट सुरु भयो नी ?
जवाफः टोल कमिटीमा रहेर मैले राजनीति सुरु गरेको हुँ । अघि बढ्दै जाँदा विभिन्न घटना परिघटनाको सामना गर्नुपर्यो । यहाँसम्म आइपुग्दा मैले माओवादी केन्द्रको विश्वास पाएको छु । विश्वास गरेर मलाई टिकट दिनुभयो । पार्टीकै निर्देशन अनुसार प्रतिस्पर्धा गरेर वडाध्यक्षमा निर्वाचित भए । पार्टीबाट वडाध्यक्षको टिकट लिने समयमा म मनहरीको इन्चार्जको हैसियतमा थिएँ ।
०५९ सालमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको टोल कमिटीमा थिएँ । ०६२ सालमा युवाहरुको संगठन वाइसियल नेपालमा आवद्ध भए । ०६२/०६३ को युवा संगठनको गाउँ कमिटी सदस्य हुँदै ०६४ सालको क्षेत्रीय फोर्समा बसेर तत्कालिन संविधान सभाको निर्वाचनमा माननीय कुमारी मोक्तानलगायतको टिममा बसेर काम गरेँ । त्यसपश्चात् ०६४ मा नै वाइसियल मनहरीको उपाध्यक्ष भएँ र त्यसलगत्तै वाइसियलको मकवानपुर जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पनि निर्वाह गरेँ ।
०७० सालमा पार्टी फुटको चरणमा मोहन वैद्यले नेतृत्व गरेको पार्टीमा समावेश हुनपुगेँ । पालिकाको जिम्मेवारी सम्हाल्दै र पार्टीको जिल्ला सदस्य हुँदै निरन्तर अगाडि बढे । बिचमा फेरी क्रान्ति गर्ने क्रममा वैद्यसँग पनि पार्टी फुटेपछि विप्लवको नेतृत्वमा संगठित हुन पुगेँ । विप्लव नेतृत्वको दलको जिल्ला सदस्य र जिल्लाको जनसरकार प्रमुखलगायतको जिम्मेवारी सम्हालेँ ।
राजनीतिक संलग्नताकै आधारमा १ वर्ष जेल जीवन बिताउनुपर्यो । तर, विचलित भने भइन । ०७८ सालमा पुनः माओवादीमा आवद्ध भएर अगाडि बढेँ । मैले त्यस समयमा जिल्ला सचिवालय सदस्यको हैसियतमा अगाडि बढेँ । त्यसपश्चात् माओवादी केन्द्र मनहरीको सह–इन्चार्जको भूमिकामा रहेर काम गरेँ । लगत्तै इन्चार्जको पनि भूमिका पाएँ । पार्टीको काम गर्ने सावलमा ०७९ को स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा भएको चुनावमा पार्टीको जिम्मेवारी बहन गर्ने कार्यलाई अगाडि बढाउँदै अहिले माओवादी केन्द्रको मकवानपुर जिल्ला सचिवालय सदस्य, जिल्ला समन्वय समिति सदस्य बनिरहँदा माओवादी मनहरीको इन्चार्जबाट विदा भएको छु । अहिले वडाध्यक्षको रुपमा जनताको सेवा गरिरहेको छु ।
सवालः आगामी योजनाहरु के–के छन् त ?
जवाफः आम जनतालाई व्यावसायिक कृषि उत्पादन तथा पशुपालन र उत्पादनतर्फ जोड्छौँ । सिपमुलक तालिम दिएर युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ हामी पहल गर्नेछौँ । यहाँको पर्यटन प्रर्वद्धन गर्छौँ । वडालाई राजमार्गसँग जोड्ने गरी काम अगाडि बढाउँछौँ ।
सडक पूर्वाधारको विकासका कामलाई निरन्तरता दिनेछौँ । मध्यवर्ती क्षेत्रका कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न पहल गर्छौँ । जनताको सुखदुखमा सँगसँगै हुन्छौँ । वडाबाट प्रवाह हुने सेवा सुविधालाई चुस्त दुरुस्त बनाउँदै लैजान्छौँ । बाँकी कुराहरु त मैले माथि नै उल्लेख गरिसकेको छु ।
सवालः अन्तरवार्ताको अन्त्यमा के भन्न चाहानुहुन्छ ?
जवाफः मलाई विश्वास गरेर यो जिम्मेवारी प्रदान गर्नुहुने आम वडाबासीप्रति सदैव आभारी छु । हाम्रो ठाउँबाट गर्नुपर्ने कार्यहरु निरन्तर रुपमा गरिरहेकै छौं । २ नम्वर वडालाई समृद्ध बनाउन हिजो जुन योजनाका अनुसार, अगाडि बढेका थियौँ । त्यही अनुसार अघि बढ्नेछौँ । जनताको हितका लागि अझै सक्रिय भएर काम गर्ने छौँ । सबै धर्म, समूदाय, लिङ्ग, वर्ण, पेशा भएका मानिसहरुलाई समान भाव राख्दै दलगत आधारमा विभेद नगरी आफ्ना जिम्मेवारीहरुलाई निष्ठापूर्वक पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
हाम्रो वडाको गतिविधि र मेरा धारणाहरु जनतासामु पुर्याउने अवसर प्रदान गर्नुभयो । तु खबर परिवारप्रति अत्यन्तै आभारी छु ।