मुख्यमन्त्री लामालाई तरुण दल हेटौंडाको ध्यानाकर्षण पत्र

तु खबर संवाददाता
२०८१ भाद्र १२,बुधबार १०:१५

मकवानपुर । हेटौंडा अस्पतालको कर्मचारी पदपुर्तीका लागि लिइएको परीक्षामा सफल भएकाहरुलाई नियुक्त दिन माग गर्दै तरुण दल हेटौंडाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।

परीक्षा र अन्तवार्ता दुबैमा सफल भइसकेकाहरुलाई नियुक्ती दिन आनाकानी गरिएको भन्दै तरुण दल हेटौंडाले मंगलबार एक कार्यक्रमबीच मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अस्पतालको करारमा कार्यरत कर्मचारीको म्याद सकिएपछि पुनः करारमा भर्ना गर्ने गरी साउन १ गते १५ दिनको सूचना सार्वजनिक भएको थियो । साउन ३१ गते अन्तरवार्ता गरी परीक्षाफल समेत सार्वजनिक गरिएको थियो ।

परीक्षामा सफल भएकाहरुलाई नियुक्ती दिन ढिलाई गरेको चासो व्यक्त गर्दै तरुण दल नगर कार्यसमिति अध्यक्ष सुनिल गिरीको नेतृत्वमा तरुणको टोली मुख्यमन्त्री कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

सो क्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री लामाले उक्त अस्पतालको कर्मचारी पदपुर्तीका लागि लिइएको परीक्षामा सफल भएकाहरुलाई नियुक्त दिने प्रक्रिया छिट्टै टुंगिने बताए । उनले आफुले स्वास्थ्य मन्त्रीसँग यस विषयमा बसेर कुराकानी गर्ने भन्दै स्वास्थ्य क्षेत्रमा अनावश्यक राजनीति गर्न नहुने बताए ।

तरुण हेटौंडाले यसअघि हेटौंडा असपताललाई पनि ज्ञापनपत्र बुझाएको थियो । हेटौंडा अस्पतालले भने भदौ ५ गते सूचना प्रकाशन गर्दै हाललाई नियुक्ती प्रक्रिया स्थगित गरिएको जानकारी दिएको थियो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयबाट कर्मचारी नियुक्तिको क्रममा भएको अन्तरवार्तामाथि छानबिनका लागि समिति गठन भएकोले नियुक्ती प्रक्रिया स्थगित गरिएको र स्वास्थ्य मन्त्रालयबाट नियुक्ती गर्नु भन्ने पत्र प्राप्त हुने बित्तिकै प्रक्रिया अघि बढ्ने जारी सूचनामा उल्लेख छ ।