सार्वजनिक विदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई सार्वजनिक विदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै यस्तो निर्देशन दिएका हुन् ।
उक्त पत्रमा गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्था अनुसार निर्देशन दिएको भनिएको छ ।
अधिकाङ्श निकायबाट स्वास्थ्य सम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएसँगै सार्वजनिक दिनमा पनि सेवा प्रवाह गर्न भनिएको जनाइएको छ ।
मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्न समेत आग्रह गरेको छ ।
विशेष व्यवस्थामा अस्पतालसहित नागरिकतासम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र, राहदानी, वैदेशिक रोजगार सेवालगायत सेवा सार्वजनिक दिन पनि अन्य दिन सरह सञ्चालन गर्नुपर्ने भनिएको छ ।