सुकिलुम्बा बिमानस्थल बिहीबारदेखि पुनः संचालनमा आउने

तु खबर संवाददाता
२०८१ भाद्र १९,बुधबार ०९:२०

इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि पुनः संचालनमा आउने भएको छ ।

वर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द भएको उक्त विमानस्थलबाट हवाई उडान पुनः सुरु गर्न लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए ।

उनका अनुसार, गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन ।

त्यस्तै, गत जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो ।

गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन । इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना बनाएको बताए ।

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान भर्दै आएको थियो । यसअघि नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार दुई वटा उडान गरेको भए पनि अब भने बिहीबार मात्रै हुने जनाइएको छ ।