मकवानपुरमा स्क्रब टाइफसका १५६ जना बिरामी फेला

मकवानपुर । मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गत साउन महिनादेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका १५६ जना बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै महिलामा उक्त संक्रमण पुष्टि भएको छ । सो अवधिमा ५५ जना पुरुष र १०१ जना महिलामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो ।
जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ५६ महिला र ३३पुरुष गरी ८९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।
यस्तै, मकवानपुरगढी गाउँपालिकामा १५ महिला र ७ पुरुष गरी २२ जना, बागमती गाउँपालिकामा एक जना पुरुष, कैलाश गाउँपालिकामा एक जना महिला, मनहरी गाउँपालिकामा ४ पुरुष र १० जना महिला गरी १४ जना स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।
यसैगरी, इन्द्रसरोवर गाउँपालिकामा एक जना महिला, भीमफेदी गाउँपालिकामा एक जना पुरुष र ९ जना महिला गरी १० जना, बकैया गाउँपालिकामा ८ पुरुष र ७ महिला गरी १५ जना, राक्सिराङ गाउँपालिकामा एक जना महिला र अन्य जिल्लाका एक जना पुरुष र एक जना महिला गरी दुई जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।
जिल्लाको थाहा नगरपालिकामा भने हालसम्म स्क्रब टाइफसको बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् ।
झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।