जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी काम गर्न मुख्यमन्त्रीको आग्रह

तु खबर संवाददाता
२०८१ भाद्र २६,बुधबार ०९:५८

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरेका छन् ।

मंगलबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको १० औं जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले स्थानीय तहलाई सुशासन कायम हुने गरी र जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी काम गर्न भनेका हुन् ।

जिससले अझै पनि अधिकार प्राप्त गर्न नसकेको उनले जिकिर गरे । स्थानीय तहलाई नियन्त्रणमा राख्न समन्वय समिति चाहिन्छ भन्ने कांग्रेसकै अडानका कारण समन्वय समितिको व्यवस्था भएको उनले दाबी गरे ।

मुख्यमन्त्री लामाले संविधान निर्माणको क्रममा प्रमुख राजनीतिक दलहरु चुकेको बताउँदै संघीयतालाई कम खर्चिलो गर्ने कांग्रेसको प्रस्तावमा अरु राजनीतिक दलहरु सहमत हुन नसकेको बताए । मुख्यमन्त्री लामाले ५ वटा मात्र प्रदेशको प्रस्ताव राख्दा कांग्रेसलाई संघीयता विरोधी पार्टी भनेर आरोप लागेको भन्दै उनले अहिले संघीयतामाथि उठेको प्रश्न पनि त्यसैको परिणाम भएको उल्लेख गरे ।

साथै उनले संविधान संशोधन अनुसन्धानको विषय बन्नुपर्ने बताउँदै अनुसन्धान बिना संविधान संशोधन हुँदा झन विवादित हुने बताए । प्रदेशको औचित्यलाई पनि पुष्टि गर्ने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाई छ ।

प्रादेशिक संरचनाबाट केही सुुधारहरु भएपनि जनताको आकांक्षा अनुसार अझै पनि सुधार हुन नसकेको उनले बताए ।