कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भदौ ३० गते हेटौंडा आउने
मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यही भदौ ३० गते आइतबार हेटौंडा आउने भएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न महामन्त्री शर्मा हेटौंडा आउने भएको कांग्रेस मकवानपुरले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।
कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाई कारण २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समिक्षा कार्यक्रम २०८१ को आयोजना गर्न लागिएको हो ।
विभागले आफ्नो पहिलो कार्यक्रम बागती प्रदेशको राजधानी हेटौंडाबाट सुरु गर्न लागेको हो । हेटौंडामा हुने उक्त कार्यक्रमको तयारी सुरु भएको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए ।
कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सबैलाई सहभागिको लागि निमन्त्रणा गरेको सभापति लामाले बताए । उनले कांग्रेसबाट जिल्लामा निर्वाचित २ सय जना जनप्रतिनिधिको उपस्थिति हुने बताए ।
उनका अनुसार, भेलामा स्थानीय तह निर्वाचनको विषयमा समिक्षा र अबको दिनमा तय गरिने मार्ग निर्देशनबारे छलफल हुनेछ ।