दशैँका लागि हवाई टिकट बुकिङ सुरु, सार्वजनिक सवारीसाधनको कहिलेबाट ?

तु खबर संवाददाता
२०८१ भाद्र २७,बिहीबार १७:०६

काठमाडौं । चाडबाँडलाई लक्षित गर्दै यात्रुहरुले धमाधम हवाई टिकट बुकिङ गर्न थालेका छन् ।

यात्रुहरुले दशैँमा टिकको अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले अहिलेनै धमाधम हवाई टिकट बुकिङ गर्न लागेका हुन् ।

अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको वायुसेवा संचालक संघले जनाएको छ ।

उक्त संघका प्रवक्ता मुरारीधर जोशीले दशैँ लक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएका बताए ।

यस्तै, दशैँलाई लक्षित गरी सार्वजनिक सवारी, बसको टिकट भने आगामी असोजको पहिलो सातादेखि खुल्ला हुने जनाइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ ।

महासंघले दशैँको १५ दिन अगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ । यस पटक पनि समयमै खुला गरी सहज र सुरक्षित यात्रा गराइने महासंघका अध्यक्ष विजय स्वाँरले बताए ।