प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

तु खबर संवाददाता
२०८१ भाद्र ३०,आईतवार ०९:१२

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

उक्त बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयद्वारा जारी गरिएको कार्यसूचीमा उल्लेख छ ।

यस्तै, बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।

यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९/८०’ पेस गर्ने र सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।