हेटौंडाको बनस्पतिमा सप्ताह सुरु

तु खबर संवाददाता
२०८१ भाद्र ३०,आईतवार १६:०३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, बनस्पतिमा आइतबारबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

महायज्ञको बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै प्रदेश सभा सदस्य श्रेष्ठले नेपालको बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक समाजको महत्व र यसको समग्र विकासको आवश्यकतामाथि जोड दिनुपर्ने बताए ।

उनले सबै धर्म र भाषाको विचालाई सम्मान गर्नुपर्ने भन्दै सनातन धर्मको विकासलाई उदाहरणको रूपमा विकास गर्नुपर्ने बताए ।

उनले यस क्षेत्रको विकासलाई नवीन दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औंल्याए । धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्ने कार्यमा सबैको प्रयास जरुरी रहेको उनले बताए ।

आगामी असोज ५ गतेसम्म संचालन हुने महायज्ञमा हेटौंडा उपमहानगरपालिका वडा नं. १३ मा अवस्थित श्री कालेश्वर महादेव मन्दिरको पूर्ण संरचना र अक्षयकोष स्थापनाका एवम् बुद्ध मूर्ति निर्माणका लागि प्रख्यात कथा वाचक पण्डित कपिलदेव भट्ट तथा उप–वाचक पण्डित डेगनाथ ढकालले कथा वाचन गर्नेछन् ।

कार्यक्रमा सम्पूर्ण दिवंगत आत्माहरुको बैकुण्ठ बासहोस् भन्दै पितृ उद्धार गर्ने उद्देश्यले कथा वाचन, पाठपरायण तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट भजन कीर्तन, संगीतमय देवलिला झाँकी नाटकसहितको कार्यक्रम हुने मूल आयोजक समारोका संयोजक सन्तबहादुर तितुङले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, वडा समन्वय समितिका संयोजक बालकुमार श्रेष्ठ, समितिका कोषाध्यक्ष कृष्ण प्रसाद दाहाल, वसन्त लामा, बिन्दबासिनी टोलबिकास संस्थाका अध्यक्ष रत्नबहादुर केसी, सहारा टोलबिकास सस्थाका अध्यक्ष अशोककुमार डिमडुङ, मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर भ्लोन लगायत उपस्थिति रहेको थियो ।