जबरजस्ती करणी गरेको ठकर गर्दै हेटौंडाका युवकलाई १५ वर्ष कैद सजाय
मकवानपुर । हाडनाता पर्ने बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत मकवानपुरले हेटौंडाका एक युवकलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
अदालतले युवकबाट पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै १५ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलाशले हेटौंडा–१५ का २५ वर्षीय नाम परिवर्तित ३१ (ए) युवकलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ठहर गर्दै उक्त फैसला सुनाएको अदालतले जनाएको छ ।
अदालतका अनुसार, उक्त इजलाशले हाडनाता बलात्कार गरेकोमा १३ वर्ष र बालिका बलात्कार गरेकोमा थप २ वर्ष गरी १५ वर्ष कैद गर्ने फैसला गरेको छ ।
हाडनाता पर्ने बालिकालाई बलात्कार गरेको आरोपमा युवकलाई २०७९ असोजमा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो ।
२०७९ कात्तिकमा पुर्पक्षका लागि थुनामा राख्न क्षेत्रीय कारागार भीमफेदी पठाएको उनलाई अदालतले २ वर्षपछि कैद सजाय सुनाएको हो ।