मकवानपुरकी एकल महिलालाई पक्की घर हस्तान्तरण

तु खबर संवाददाता
२०८१ आश्विन १,मंगलवार १६:३१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ५, बसन्तपुरकी एकल महिलालाई पालिकाका अध्यक्ष रन्जन कालाखेतीले पक्की घर बनाएर हस्तान्तरण गरेका छन् ।

लामो समयदेखि आवास विहिन अवस्थामा रहेकी सोनी राइलाई पालिका अध्यक्ष कालाखेतीले पक्की घर बनाएर मंगलबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष कालाखेतीले आफ्नो पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त गरेको रकम कोष बनाएर जम्मा गर्दै आएको र सोही कोषबाट २ लाख १५ हजार रुपैयाँ खर्चेर ती एकल महिला राईको लागि पक्की घर निर्माण गरिदिएको जानकारी दिए ।

राईको परिवारमा उनीबाहेक कोही छैनन् । विगत ८ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उनी लामो समयदेखि बसन्तुरमा सानो छाप्रो बनाएर बस्दै आएकी थिइन् ।

‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी थिएँ । सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ । पानी चुहिन्थ्यो । हावाहुरीले समस्या पाथ्र्यो । केही समयदेखि आफन्त र गाउँघरमा बास बस्दै आएकी थिएँ । तपाईँहरु सबैको सहयोगले घर बन्यो, धेरै धेरै धन्यवाद ।’ सोनीले भनिन् ।

स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरुले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्ष कालाखेतीलाई जानकारी गराएका थिए । ‘सोनी दिदिको अवस्था देखेर हामी निकै चिन्तित थियौँ । पढलेख गर्न पनि जान्नुहुन्न । ज्यालादारीबाट खानाको व्यवस्था गर्नुभएको छ । अध्यक्षज्यूले हाम्रो अनुरोध सुनेर उहाँलाई पक्की घर बनाइदिनुभयो ।’ स्थानीय शान्ता अधिकारीले भनिन् ।

अध्यक्ष कालाखेतिले आफुले निर्वाचनका बेला जनताको बिचमा गरेको प्रतिवद्धता अनुसार आफुले पाउने सेवा सुविधा वापत्को खर्च जनताको सेवा समर्पित गर्दै आएको बताए । साथै उनले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवाको लागि उक्त कोषबाट सहयोग गर्ने दृढता व्यक्ति गरे ।