इन्द्रसरोवर तालमा विपद् उद्दारको नमुना अभ्यास
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर तालमा विपद् उद्दार नमुना अभ्यास गरिएको छ । विपद्को समयमा सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि उक्त तालमा विपद् उद्दारको नमुना अभ्यास गरिएको हो ।
कार्यक्रम सशस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरको आयोजना भएको हो । कुनैपनि विपद्का घटनामा छिटोभन्दा छिटो कसरी उद्दार गर्न सकिन्छ भन्ने उद्देश्यले अभ्यास प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, मार्खुको झोलुङ्गे पुलबाट अचानक चिप्लीएर कुलेखानीको इन्द्रसरोवर तालमा खसेको र इन्द्रसरोवर तालमै डुङ्गा दुर्घटना भएको कृत्रिम अभ्यास गराई उद्धार प्रक्रियाका बारेमा जानकारी गराएको सशस्त्र प्रहरी बल १४ नम्बर हेडक्वार्टर मकवानपुरका प्रमुख ज्ञानप्रसाद भ्रुतेलले बताए ।
उनका अनुसार, अभ्यासका क्रममा विपद् व्यवस्थापन तथा वाटर रेक्यू तालिम प्राप्त १५ जना सशस्त्र प्रहरीको टोलीले डुबेको व्यक्तिको उद्धार गरेर प्राथमिक उपचार पश्चात् थप उपचारका लागि स्वास्थ्य संस्था पठाइएको दृश्य देखाइएको थियो ।