साहित्यकार बबी थापाको ‘सूत्र’ को संङ्क्षिप्त विश्लेषण
मकवानपुर । गत दशकमा जागरुक महिला सम्मानबाट सम्मानित भइसकेकी एक सशक्त साहित्यकार हुन् बबी थापा । करिब तीन दशकदेखि मकवानपुरे साहित्यमा निरन्तर लाग्ने हस्तीमा पर्ने नाम हो बबी थापा ।
साहित्यिक तथा सामाजिक काममा निरन्तर सक्रिय बबी थापाका रचनाहरु विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । साहित्यकार थापाको प्रकाशित कृतिबारे यस स्तम्भकारलाई जानकारी नभएको हुँदा आवश्यक परेपछि थपघट गरौँला तर, थापाका सिर्जनाहरु सित भने परिचित भएकोले अलिकति लेख्ने प्रयास गरेको छु ।
एक दशक अघि चन्द्रोदय माध्यमिक विद्यालय कमाने (हेटौंडा, मकवानपुर) ले प्रकाशित गरेको थियो एउटा स्मारिका–चन्द्रोदय । स्वर्ण महोत्सव स्मारिका २०७१ नामकरण गरिएको थियो । नाममा नै स्पष्ट हुन आउँछ – विद्यालयको स्थापना ५० वर्ष पहिले भएको थियो । कुनै पनि अविछिन्न संस्थाको लागि यो वर्ष अति नै गौरवपूर्ण हुने गर्दछ । २०२२ सालमा निर्मल ज्योति प्राथमिक विद्यालयको रुपमा स्थापना भई २०३२ मा कानूनी मान्यता प्राप्त गर्दै चन्द्रोदय प्राथमिक विद्यालय भएको र समय समयको क्रममा विस्तारै निम्न माध्यमिक, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयसम्म हुन पाएको चन्द्रोदयले पार गरेका आरोह–अवरोहहरुलाई एउटा पुस्तकीय यात्रामा समाविष्ट गर्ने निकै गहन काम भएको थियो स्मारिका प्रकाशन ।
स्मारिका प्रकाशन समितिका संयोजक थिए, साहित्यकार रमेश मोहन अधिकारी । साहित्यकार भएकाले होइन, विद्यालयको शिक्षक रहेकाले अधिकारी समितिमा परेका थिए । समितिका सदस्यहरु थिए– राजुप्रसाद घिमिरे, धनराज फयँल, अम्बिका ढकाल र नवराज जमरकटेल । विभिन्न शुभकामनासँगै मुख्यतः विद्यालय गतिविधिमा केन्द्रित यस ऐतिहासिक प्रकाशनमा केही साहित्यिक रचना पनि समेटिएका थिए ।
यस्तै केही रचनामा एक छ बबी थापाको – सूत्र ।
सूत्रलाई विषय सूची वा प्रकाशन भएको पृष्ठमा कुनै विधा तोकिएको छैन । विव्यसका आमन्त्रित सदस्य सुदीपराज गिरीको कविता ‘शिक्षकको नियति’ प्रकाशन रहेको पृष्ठ ६४ मा थापाको ‘सूत्र’ रहेको छ । यसै पृष्ठमा एउटा शुभकामना विज्ञापन पनि प्रकाशित छ । संयोग नै मान्नुपर्छ शुभकामना विज्ञापन रहेको श्रमिक माध्यमिक विद्यालयका अध्यक्ष एवम् प्रधानाध्यापकको पद मात्र दिइएको छ, नाम प्रकाशित छैन । अन्य शुभकामना विज्ञापनमा प्रायः नाम प्रकाशित छन् । थापाको रचनाको शीर्षक ‘सूत्र’ रहेको तर, विधान तोकिएकोले केही कौतुहल स्वाभाविक रुपले बढेको छ ।
‘सूत्र’ मा दुई अनुच्छेद छन् । पहिलो चार पङ्क्तिको र दोस्रो वा अन्तिमबार पङ्क्तिको । ‘सूत्र’ को प्रस्तुति औत्सुक्यपूर्ण रहेको छ । यसको आरम्भ नै उत्कर्षबाट भएको छ ‘म ऊसँग ठोक्किएँ, उसले कुनै प्रतिक्रिया देखाएन ।’ रचनाको समापन नहुँदासम्म उत्सुकताको विस्तार भइरहन्छ । जब रचनाको अन्त्य आउँछ तब उत्सुकताको समापन हुन्छ । अर्थात्, तत्कालीन अवस्थाको लघुकथाको जुन मान्यता थियो वा अहिले पनि रहेको छ धेरै हदसम्म, सोही मान्यताको रचना रहेकोले ‘सूत्र’ लाई लघुकथा मान्न सकिन्छ, भन्न सकिन्छ । संवादविहीन वा एकल संवादमा रहेको प्रस्तुत ‘सूत्र’ लघुकथा मनोविज्ञापनपरक रहेको देखिन्छ ।
‘सूत्र’ शब्दले अनेक अर्थ बोक्दछ । ‘व्याकरण, दर्शन, गणित, विज्ञान आदिका नियमलाई छोटकरीमा बोध गराउने बीजगणितात्मक पद्धति तथा उक्त पद्धतिका लागि प्रयोग गरिने शब्द सङ्केत वा वाक्य सङ्केत, बीजवाफर्मुला पनि सूत्र’ हो भने ‘सुराक, ठुलो घटना, षड्यन्त्र आदि कुराहरु पत्ता लगाउने साधान, सुइँको वा स्रोत पनि सूत्र’ हो । ‘सूत्रको अर्थ उपाय, जुक्ति, गुत्थी, किल्लीवा कडी’ पनि हुन्छ भने ‘सूत्रको अर्थ दुई वस्तु वा विषयलाई जोड्ने भित्रीतत्व’ पनि हुन्छ । कतिपयले ‘सूत्रलाई धागो वा जनै’ पनि मान्दछन् भने ‘विश्वस्त र गुप्त खबरलाई पनि सूत्र’ मान्दछन् । यसरी सूत्रको अनेक अर्थ अन्यान्य पनि हुन सकिने कुरामा दुई मत छैन ।
‘सूत्र’ लघुकथामा माथि नै संकेत गरिए जस्तो म पात्र प्रमुख रहेको छ । म पात्रको केन्द्रीयतामा यो कथा अगाडि बढेको छ । म पात्र परिवर्तनशील रहेको छ । सुरुदेखि आसक्त देखिएको पात्र अन्तिमतिर आउँदा रिसाउँछ र कथान्तमा चाँही उसले वास्तविकता थाहा पाउँछ । ‘‘म पात्र जसप्रति आसक्त जस्तो देखिएको छ, रोबोट रहेछ, यन्त्र मानव । यन्त्रमा नव बनाउने सूत्रप्रति आसक्त भएर पनि केही नहुने रहेछ । हो, त्यस किसिमको यन्त्रमा नव हुनुपर्ने हो तर, लघुकथामा त्यो संकेत गरिएको छैन । यन्त्र पूर्णतया प्रतिक्रिया विहीन रहेको छ ।’’
आयामको दृष्टिकोणले लघुकथा लघु नै रहेको छ ।
प्रतिक्रिया दिन सक्ने सामथ्र्य हुनेसित मात्र प्रतिक्रियाको अपेक्षा गर्न सकिन्छ । जसमा सम्वेदना हुँदैन, उसले कुनै प्रतिक्रिया दिन सक्दैन । आसक्ति पनि रिसमा बदलिन सक्छ भन्ने कथन यस लघुकथाको रहेको छ । यस लघुकथाले आसक्ति वा आकर्षण हुनको लागि एकोहोरो भएर मात्र पुग्दैन, दोहोरो हुनको लागि दुवैमा मन चाहिन्छ, मस्तिष्क चाहिन्छ अर्थात् आत्मा हुनुपर्छ । सजीव जस्तो भएर मात्र पुग्दैन, सजीवताको योग्यता पनि हुनुपर्छ ।
साहित्यिक रचना निकै कम संख्यामा प्रकाशित भएको प्रस्तुत स्मारिका ग्रन्थमा परेका साहित्यिक रचनाहरु कि चन्द्रोदयका पूर्व विद्यार्थी वा निकट रहेका रचनाकार हुन् वा सम्पादक मण्डलका निकटका सर्जक हुन् भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । यस स्मारिकाले थोरै रचना पस्केको भएपनि गुणस्तरीयताको दृष्टिकोणले भने उच्चकोटिका रहेका छन् । साहित्यकार बबी थापाको प्रस्तुत सूत्र लघुकथा पनि एउटा स्तरीय रचनाको रुपमा रहेको स्पष्ट छ । साहित्यकार बबी थापाको साहित्यिक जीवन अझ गुणस्तरीय बन्न सकोस् ।